नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पारसले मङ्गलवार बिहान सन्यास लिने निर्णयमा पुगेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै सन्यास घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् ।
मैदानभित्र दुई दशक रहुन्जेल मिठो यादका रूपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् । नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको बताउँदै ३३ वर्षीय खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट ब्याट बिसाउने निर्णय गरेका हुन् ।
यता, पूर्व कप्तान पारसले आफ्नो क्रिकेट जीवनबाट सन्यास लिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुष्टि गरेको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पूर्व कप्तान पारसले इमेल गरी सन्यासबारे जानकारी गराएको बताएका छन् । उनले पारसको अचानकको सन्यासको घोषणाले क्यान स्तब्ध रहेको बताउँदै नेपाललाई विश्वकपसम्म पुर्याउने सपनालाई साकार बनाउन पारसको अनुभव र प्रदर्शनको खाँचो रहेको समयमा उक्त निर्णय आएको बताए ।
करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटुलेका अनुभवी पारसले आफ्नो सन्यासबारे घोषणा गर्दा नेपाली क्रिकेट समर्थक निराश बनेका छन् । पारस १५ वर्षको छदा सन् २००२ मा पहिलो पटक क्रिकेट यात्रा सुरु गरेका थिए । त्यसयता, उनी अलराउन्डरको भूमिकामा निरन्तर नेपालको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरी चर्चा बटुलेका छन् ।
वक्तव्यमा उनले नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको उनले बताएका छन् ।
राष्ट्रिय क्रिकेट टोली हाल अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्ने तयारीमा छ । बन्द प्रशिक्षण सोमबारबाट मात्रै सुरु भएको छ । सोमबार पहिलो दिन पारस बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन् ।
नेपालमा गत अप्रिल महिनामा सम्पन्न नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलामा घाइते भएपछि पारस टोलीबाट बाहिरिएका थिए । उनको स्थानमा कुशल भुर्तेलले अवसर पाएका थिए । २०७६ को फागुनमा नेपालले थाइल्यान्डमा एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दा पारस टोलीका सदस्य थिए । उक्त प्रतियोगिता नै पारसको अन्तर्राष्ट्रिय प्रतियोगिता रहन गयो ।
पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका छन् । सन् २००९ मा उनले राष्ट्रिय टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए । सन् २००६ मा आइसिसी प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ ।
सन् २००७ मा १९ वर्षमुनिको एसीसी ट्रफी २००७ मा पारसको बलिङले नेपाललाई लगातार दोस्रो पटक प्लेट फाइनलसम्म पुर्याएको थियो । उनले उक्त प्रतियोगितामा १२ विकेट लिएका थिए । नेपालको प्रतिनिधित्व गरी १० अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा पारसले एक शतक र एक अर्धशतकसहित तीन सय १५ रन बनाएका छन् ।
बलिङमा उनले नौ पारीमा नौ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा उनले ३२ खेलमा एक शतक र चार अर्ध शतकसहित सात सय ९९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उनले आठ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय स्पर्धामा उनले नेपालका लागि छ खेलमा नेतृत्व गरेका छन् ।
सन् २०२० मा पारसले कप्तानीबाट राजीनामा गरेपछि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले उनलाई विस्थापित गरेका थिए । गत मङ्सिरमा पारसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले दशकको एशोसिएट क्रिकेटरको रूपमा मनोनयन गरेको थियो । पारसकै नेतृत्वमा नेपालले पहिलो पटक सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सकेको छैन ।