नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् ।
महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवानिवृत्त हुन लागेका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।
मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गर्नु गरेका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न आग्रह गरेका छन् ।
“मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ ।” मन्त्री शर्माले भने “मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।”
कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनतपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्नुहुँदै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको बताए ।
अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गरेका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए ।