मेरो मगजमा अनेक खाले प्रश्नहरू आउँछन् ।तर ती अनेक तानाबानाको जवाफ मसित छैन ।सायद उत्तर मैले कुनै गुरु,किताब, टि.भी सो, युट्युबमा सुनिने अनेकौँ धर्मगुरु, मोटिभेसनल स्पिकरको आवाजबाट पाउँथे पनि होला ।
तर मन्जुर भएन मलाई ।उधारो लिनु भन्दा अनुत्तरको स्थितिमा नै मैले सन्तोष मानेँ । चौराहामा एक छिन उभिएर एकपल्ट नियालेँ मैले सबैतिर ।
विभिन्न दृश्य नाच्छन् मेरा अगाडि ।स्कुल ड्रेसमा सजिएका किशोर–किशोरीमा म आफूलाई पाउँछु ।वृद्धको न्यास्रो अनुहारमा पनि म छु ।आखिर के खोजिराखेको छु म ?जे पाएँ ,ती फगत शब्द थिए ।ज्ञान सायद,त्यहाँ थिएन ,ज्ञान त आगो रहेछ तर म खरानी जम्मा गर्दै बसिरहेछु भनेर धेरै वसन्त पार गरेपछि बुझ्यो मेरो मगजले ।
हामी सबै सुनाउन तयार ,तर सुन्ने जमात खै ?आजकलका डिस्कसनका क्लबहरू मलाई यस्तै लाग्छ जहाँ सबै आतुर छन् हामी केही भन्न ।फ्रायड पछि अभिव्यक्तको धारणा प्रबल बन्यो ।अभिव्यक्ति हाम्रो स्वतन्त्रता होला ,तर के अगाडिको व्यक्तिको पनि यो अधिकार होइन र ,हजुरको अभिव्यक्तिलाई उसले अस्वीकार गर्न ।
साँचो कुरा त यो हो कि अलग परिवेशमा ,कुनै कुरा राख्नुले अझ जटिलता पैदा गर्छ ।फरक पृष्ठभूमिका छौ हामी यो सानो मुलुकमा पनि । पृष्ठभूमि अनुसार बनेको दृष्टिले भने विचारलाई शिरोधार्य गर्न उत्तिकै कठिन हुन्छ ।विचार बन्छ ;देखेर,सुनेर,पढेर र गमेर ।समग्रमा भन्नु भन्दा भोगेर ।तर अचम्मको कुरो के भने ,यसमा पनि होडबाजी छ ।मेरो विचार सही हो र यो मान्नै पर्छ भन्ने ।हामीलाई कति समय लाग्ने हो कुन्नि यो बुझ्न कि मान्छे परिवेश अनुसारको बुझाइ बनाउँछ भनेर ।
देश जीर्ण स्थितिमा छ,राजनीति सही दिशातर्फ नलम्किँदा,निकायहरू कमजोर बन्दै गएको छन् ।युवाहरू विश्रिप्त भएर बिदेसिनेको सङ्ख्या पनि कम छैन ।परन्तु गोबरमा गुहे किरा रमाएझैँ ,यो फोहोरमा रमाउनेको रहरको पनि कमी छैन ।विद्यार्थीको नाममा राजनीति गर्दै ,हक र अधिकारको कुरा गर्नेको पनि रजगज बेग्लै छ ।
कुनै गण्य/मान्य नेतालाई बोलाएर ,नेतालाई मिठा मिठा आत्मप्रशंसाको ललिपप चखाउन माहिर छन् हाम्रा भोलिका कर्णदार ।अझ भन्नु पर्दा विद्योपार्जन बाहेक यी विद्यार्थीको अरूमा सबैमा रुचि देखिन्छ ।
जब परीक्षामा असफल हुनुहुन्छ ,यी महाशयहरू । परिणामस्वरूप; शिक्षकलाई फकाउने नत्र लठ्ठी नचाउने खेलमा पनि सिद्धहस्त नै छन् यी गणहरू । महिनौँ भयो ,कोरोनाको कहरको चपेटामा परेर विद्यार्थीको बिल्लीबाँठ भएको छ तर,कोही माईकालाई बोल्दैन ।मै हुँ,विद्यार्थीको मसिहा भन्ने,तर उत्ति र हुर्मत कत्ति पनि देखाउन नसक्ने यी नेता भनाउँदालाई हामीले झोले नभनेर के भन्ने ?भन्ने आँट आउँछ , सत्य र स्पष्टता भएको भए ,जुन पुच्छर लाएर हिँड्नेमा नहुनु अनौठो होइन ।
एकाध दुई बाहेक ,धेरै विद्यार्थी नेताहरू ‘म त मेरा मालिककै वफादार ’देखाउन इच्छुक छन् ।अनि ,कोही सज्जनले यो त अति भयो भनेर मालिकाका बारेमा केही भनोस् ,यिनीहरूको सात पुस्ताको अहङ्कार जाग्छ ।सिद्धान्तप्रति निष्ठा एउटै कुरा हो तर विवेक र विचार शून्य यी मनुवाको मस्तिष्कमा के चल्छ होला,म गम खान्छु ।
जो टायर जलाउनमा उद्धत छ,मान्यौँ यही नै मान्यजनको पेसा हो ।नारामा तातेको छ सडक,सडकसँगै तातेको छ मेरो दिमाग । राजनीतिक नारा लगाउने बित्तिकै ‘झोले’ भन्ने प्रवृत्ति छ जुन गलत हो ।तर चेतको नाममा अचेतनै भएर कसले कुन नियतले आफूलाई प्रयोग गरेको छ पनि थाहा नहुनु ,बेवकुफी मात्र होइन ,बेसोही पनि हो ।
हाम्रो समाजमा जसलाई पनि ज्ञान नै सर्वेसर्वा लाग्छ ।ज्ञान आवश्यक हो तर पर्याप्त होइन । एम.बि.ए गरेर उद्योगपति हुन्छु भन्ने ,एग्रीकल्चर गरेर कृषि व्यवसायी हुन्छु भन्नेको धेरै भिड छ यहाँ ।किताबका कति शब्द जीवनमा तैलिदाँ धेरै स्खलन भएको पाएको छु मैले ।
अध्ययन,अवलोकन र अभ्यास फरक हुन् भन्ने नबुझेकालाई ,जिन्दगीले दह्रो तरिकाले कुल्चन्छ पनि ।केही गर्छु भनेकालाई पनि सरकारको नीति नियमको जालोमा बेरिन पुगेका छन् ।कृषकलाई भारतीय तरकारीसित प्रतिस्पर्धा गर्नु पर्छ भने पर्यटन व्यवसायी कोरोनाको आततायीबाट बच्नलाई विस्थापित हुँदै गएका छन् ।यस्तो स्थितिमा हरेक श्रमजीवीले राज्यप्रति दयाका नयन तेर्साउनु स्वाभाविक हो तर सहायता त छैन ,त्यसमाथि आम नागरिकको ज्यान बेचेर खोपमा पनि कालोबजारी गर्नेलाई पनि मान्नै पर्छ ।
जातीय कुराले बजार तातेको छ ,थोरै त्यसैको कुरा गर्यौ ।जब हामीलाई सानैदेखि जात,धर्म,लिङ्गको ज्ञान दिइन्छ ,त्यसपछि मुक्त हुन सहज हुन नसक्नु स्वाभाविक हो ।तर यसको यो कत्ति होइन ,म अर्काको भनाइको पछि लागूँ । समाज हरेक देशका फरक हुन्छन् किनभने इतिहास,संस्कृत र त्यो भन्दा बढी व्यक्तिलाई मनोविज्ञानले असर गर्छ ।अमेरिका विकसित मात्र होइन ,लोकतान्त्रिक राष्ट्र पनि मानिन्छ । तर कति महिना बित्यो होला ,जर्ज फ्लोडलाई घाँटीमा घुँडाले थिचेर मारेको । यस्ता घटना घट्छन् किन ,किनभने श्वेत बाहुल्यता मात्र छैन ती देशमा ,श्वेतमा अश्वेत भन्दा श्रेष्ठ छु भन्ने भाव पनि तीव्र छ ।
म आफै पनि क्षेत्रीय परिवारमा जन्मिए । जातीय अभिमान ममा पक्कै होला ।परिवारमा बारम्बार उठबसले मलाई आफ्नो जात प्रति गर्व गर्न सिकाउँछ जुन एक अर्थमा स्वाभाविक पनि हो ।के यसको तात्पर्य अरूलाई विभेद गर्नु हो त ? जब हृदयमा भेद भएपछि बाहिर समानताको कुरो गर्नु ढोङ होइन र ? आमाले मर्द भएर पनि कति रोएको भनेर मैले नै कति पल्ट सुनेको छु ,के पुरुष भावुक हुँदैन र ?एक विमति त मेरो यही छ ।रजस्वला र प्रसव पिडाले गर्दा पनि नारी पुरुषको तुलना बढी पिडा सहन्छे र सहन सक्छे ।त्यसैले पनि हुँ म लिङ्गभेदि । फरक छ प्राकृतिक बनावट ।
तर म कुनै फोरममा गएर जातीय समानताको कुरा गर्ने झनै मिल्दैन जब घरकालाई सम्झाउन सक्दिन । के त्यो पाखण्ड होइन र ?के हामी धेरैको चरित्र त्यस्तै छैन र ? रूपान्तरण हुन नसक्ने कारण यही छ के ।दुनियाँ भन्छ ,समाजमा कति विभेद छ,म भन्छु घरमा तिम्रो कति भिन्नता छ ।मान्छे भन्छन् ,समाजमा कति हिंसा,म भन्छु परिवारमा तिम्रो कति कलह छ ।पहिला घर बद्लियोस् ,त्यसपछि आउला नि,समाजको पालो ।तर यहाँ त बा–आमालाई पुरातानवादी भन्नेको ताँती पनि लामै छ ,जबकि उ आफै नै पाखण्डको खोल ओढेको छ ।अबुझलाई बुझाउन सकिन्छ ,तर हामी जस्ता बहुरुपियालाई के गर्ने ?
जातीय अभिमान र जातीय भेदभावलाई एउटै आँखाले त हामीले हेरेका छैनौ ? विज्ञानको आधार लिने हो भने पनि ,हामी ठिमाहा हौँ ।समय,स्थान र एउटै प्रजाति भएका कारणले पनि हामीबिच कालान्तरमा प्रजनन हुन सम्भव भएको हो ।
एउटा जमात छ ,युवाको ।जोसित,जोस छ तर होस छैन ।साम्यवादको कुरा गर्ने यो देशमा जब बारम्बार किशोरीहरू बलात्कार भइराख्छन् ,तब सरकार मौन देखिन्छ ,मान्यौ उसलाई कुनै फरक नै परेको छैन । कहिले सम्झना कामी त कहिले निर्मला पन्त ।न्याय मिल्ने त परै जाओस् ,दशतिर ढोका ढकढकाउँदा पनि कुनै वकालत गर्ने वकिल भेटिँदैन यहाँ ।यहाँ स्वघोषित मानवतावादिको नि लामै ताँती छ ।एक समय ,एउटा घटनाले मिडिया तात्छ ,प्रकारान्तरमा सबै सेलाउँछ ।मिडिया त सेलायो नै ,त्योसित त्यसको मुद्दा ठाउँसम्म पुर्याउँछु भन्ने पनि आफै सेलाए ।अब भन्नुस्,के हाम्रा जति पनि मुद्दा उठाउँछन्,ती प्राय क्षणिक मनोरञ्जनबाहेक के हो?बजारमा जुन मुद्दा छ,त्यही टिप्यो ।अनि सबै एजेन्डा गायब ,घटना हेडलाइनबाट हराएपछि ।न्युजलाई ‘हट केक’बाहेक केही होइनन् यहाँका मुद्दाहरू ।
कहिले होला जब ,हामी दोषीलाई सजाय दिन तयार छौ तर दोषी निर्दोष रहन किन सकेन भन्ने खोज गर्न थाल्छौ ?सजाय दिँदैनौ मात्र तर दण्डभन्दा ठुलो परिवर्तन हो भनेर एउटा खुट्किलो चढ्छौ ।समाजको दृष्टि चेष्टाभन्दा बढी समाधानमा केन्द्रित हुन पर्ने होइन र ?तर यी कुरा त समानताको दैनिकी कुरा हुने देशमा दिवास्वप्न नै भएको छ ,आजको दिनसम्म ।
हाम्रो समाजमा बलात्कारको सङ्ख्या बढ्दो छ ,सजाय दिने आवाज निरन्तर उठ्छ ।तर सजाय दिनुभन्दा ,सजाय पाउने मान्छे,त्यो ठाउँमा पुग्छ भनेर खोज गर्न पर्दैन र ?बाह्र वर्षको किशोरदेखि बहत्तर वर्षको वृन्दसम्म किन यस्ता सङ्गिन अपराधमा संलग्न भएका छन् ,त्यसको खोज गर्न पर्दैन र ?ती अपराधी किन त्यस्तो कुकार्यमा आबद्ध हुन पुगेका छन् ?के ती पनि समाजकै हिस्सा होइनन् र ?
समाजलाई परिवर्तनतिर डोर्याउने हो कि अभ्यास मात्र गर्ने हो ?चेष्टा ठुलो हो कि नतिजा ?सङ्घर्ष कि सफलता ?यति सजायमा मात्र रूपान्तरण देख्छौ भने चिन र भारतमा मृत्युदण्डको व्यवस्था छ ।यो अभ्यास गरेको वर्षाै भएको छ ,परन्तु नतिजा त सोचेअनुरूप देखिँदैन ।यसको अर्थ अपराधी गतिविधिमा लागेका लाई छाडा छोड्ने भन्या होइन तर ध्येय परिणाम सूचक हुन प¥यो ।दण्ड दिनुभन्दा यसको न्यूनीकरणको बारेमा सोचौँ । नैतिकताको पाठ पनि सिकाउने तर वातावरण भने हामी नै हिंसात्मक त बनाइराखेका छैनौँ ?
तमाम कमजोरी भए पनि ,यो देशलाई नयाँ अनुहार दिन अनिवार्य छ ।पश्चिमाले छि छि र दुरदुर गर्ने होइन ,एक प्राचीन सभ्यता बोकेको राष्ट्र,जहाँ न्युनतालाई स्विकार्ने क्षमता मात्र नहोस् ,कायापलट गर्ने सामर्थ्य पनि होस् ।