मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदी बन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदी बन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
केही कैदी बन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । सङ्क्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौँ पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिए ।
सङ्क्रमित कैदी बन्दीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखेको जेलर नारायण पाण्डेले बताए । ‘सङ्क्रमण देखिएकाहरूलाई प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरिएको पनि उनले बताए ।
दोस्रो लहरको कोरोना सङ्क्रमण घट्दै गइरहेको भए तापनि विगत केही दिनदेखि देशभर कोरोना सङ्क्रमणको दर बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण देखिएको बताउँदै तेस्रो लहरको लागि सबैलाई सजग हुन र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्दै आइरहेको छ ।
आज देशका विभिन्न जिल्लामा १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३६५ जनामा सङ्क्रमण देखिएको छ । तथ्याङ्कलाई विश्लेषण गर्दा बिहीबार कूल परीक्षण गरिएकामध्ये २३ दशमलव ६३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा औसत रूपमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोरोना देखिने गरेकोमा पछिल्ला दिनमा सङ्क्रमणको दर बढिरहेको छ ।