जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिकमा नेपाली पौडीवाज एलेक्स शाहको यात्रा हिट चरणबाटै सकिएको छ । मङ्गलबार टोकियो एक्वेटिक सेन्टरमा एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएपनि हिट चरणभन्दा अगाडि बढ्न सकेनन् ।
पहिलो हिटमा प्रतिस्पर्धा गरेको एलेक्सले राष्ट्रिय कीर्तिमान बनाए । निर्धारित दूरी ५३ दशमलव ४१ सेकेन्डमा पूरा गर्दै उनले यसअघि आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । यसअघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहेका थिए । सात खेलाडी रहेको यस हिटमा एलेक्स छैटौँ लेनमा थिए । तर ७० खेलाडीमध्ये ५९ औँ बन्न पुगे । हिट चरणको समयका आधारमा शीर्ष १६ मा रहने खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् । शीर्ष १६ मा रहने खेलाडीले ४९ सेकेन्डमै हिट चरण पार गरेका थिए ।
उनको भन्दा अरू हिटमा प्रतिस्पर्धा गरेका खेलाडीको समय राम्रो रहेकाले उनी १६ जनाभित्र पर्न नसकेका हुन् ।