अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा नआएको प्रस्ट पारेका छन् । केटिएम दैनिकसँगको संक्षिप्त कुराकानीमा एन्फाका प्रवक्ता किरण राईले प्रमुख प्रशिक्षकसँग भेटघाट भए पनि उनीबाट लिखित वा मौखिक रूपमा राजीनामा नआएको जानकारी दिए ।
‘उहाँको लिखित वा मौखिक राजीनामा आएको छैन, फेसबुकमा उहाँले त्यसो भन्नुभएको हो’, प्रवक्ता राईले भने, ‘जहाँसम्म आरोपको विषय छ । त्यस विषयमा पनि छलफल हुन्छ ।’
आइतबार मध्याह्न प्रमुख प्रशिक्षक अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिन लागेको बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा उनले नेपाली फुटबल प्रशंसकलाई सम्बोधन गर्दै राजीनामा दिन आफू एन्फा जान लागेको बताएका थिए । प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्वाङ्गको कारण आफू राजीनामा गर्न लागेको आरोप लगाएका थिए ।
राईका अनुसार प्रशिक्षक अलमुताइरी एन्फा आएर ‘आफू तनावमा रहेको’ बताएका थिए । तनावमा रहेको बताएपछि एन्फाले आराम गर्न सुझाएको प्रवक्ता राईले जानकारी दिए ।
यस्तै, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेको जानकारी दिए । ‘मैले उहाँलाई फोन गरेर राजीनामा फिर्ता गर्न भनेको छु’, शेर्पाले भने, ‘अहिले म पोखरा जाँदै छु, बाटोबाटै मैले फोनमा उहाँलाई फिर्ता लिन आग्रह गरेको छु ।’
कुवेतका प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरी गत चैतमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनी एएफसी कोचिङ इन्स्ट्रक्टरसमेत हुन् । एन्फाले उनलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।