प्रि–सिजनअन्तर्गत आफ्नो चौथो मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । शनिबार राति पिएसजीले फ्रान्सको दोस्रो डिभिजन क्लब युएस ओर्लेन्सलाई १–० गोलले हराएको हो ।
लिग वानको तयारीमा रहेको पिएसजीले चारमध्ये तीन मैत्रीपूर्ण खेलमा जित निकालेको छ । एक खेलमा भने बराबरीमा रोकिएको छ ।
गए राति ओर्लेन्सको मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन अच्राफ हाकिमीले निर्णायक गोल गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औँ मिनेटमा गोल गर्दै पिएसजीलाई जिताए ।
यससँगै हाकिमीले पिएसजीबाट डेब्यु गोल गरेका छन् । उनी यसै सिजन इन्टर मिलानबाट पिएसजी आएका हुन् ।