इटालियन क्लब युभेन्टसले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । शनिबार राति युभेन्टसले दोस्रो डिभिजनको क्लब केसेनामाथि ३–१ गोलको सहज जित निकालेको हो ।
गए राति युभेन्टसको मैदानमा घरेलु टिमलाई जिताउन कोनी डी विन्टर, वेस्टन एमकेनी र माटियास साउले माल्भानोले एक–एक गोल गरे । केसेनाका क्रिस्टियन स्पेन्डीले एक गोल गरे ।
युभेन्टसले ग्याम्पर ट्रफीको उपाधिका लागि खेल्नुअघि सहज जित दर्ता गरेको हो । उसले ग्याम्पर कपको उपाधिका लागि स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दै छ । यो खेल ८ अगस्टमा बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ ।
बार्सिलोनाले भने अब दुईवटा मैत्रीपूर्ण खेल खेलेपछि युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टसले भने अब एकैपटक बार्सिलोनासँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।