प्रि–सिजनअन्तर्गत दोस्रो मैत्रीपूर्ण खेलमा बार्सिलोनाले स्पेनको दोस्रो डिभिजन क्लब जिरोनामाथि जित निकालेको हो । शनिबार राति बार्सिलोनाले जिरोनालाई उसैको मैदानमा ३–१ गोलको जित निकालेको हो ।
बार्सिलोनालाई जिताउन जेरार्ड पिके, रे मानाज र मेम्फिस डिपेले समान एक गोल गरे । बार्सिलोनाका लागि डिपेको यो पहिलो गोल हो । नेदरल्यान्ड्सका खेलाडी डिपेले बार्सिलोनाबाट पहिलो खेलमै गोल गरेका हुन् ।
उनी केही दिनअघि मात्र बार्सिलोनामा अनुबन्धित भएका हुन् । डिपे फ्रेन्च क्लब लियोनबाट सन् २०२३ सम्मको सम्झौता गर्दै बार्सिलोना आएका हुन् ।
यता, जिरोनाका सामुअल साइजले एक गोल फर्काएका थिए । बार्सिलोनालाई पिकेले पेनाल्टी गोलमा अग्रता दिलाएका थिए । खेलको २१औँ मिनेटमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो, जसमा पिकेले गोल गर्दै पाहुना टिमलाई सुरुआती अग्रता दिलाए ।
२४औँ मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ४२औँ मिनेटमा घरेलु टिमले पेनाल्टीको मौका पाएको थियो, जसमा साइजले गोल गर्दै जिरोनालाई खेलमा फर्काउने कोसिस गरे । ८५औँ मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलले जिताए ।
बार्सिलोनाले ला लिगाको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो । यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिम्यास्टिकमाथि ४–० गोलको शानदार जित दर्ता गरेको थियो । अब बार्सिलोनाले अरू दुईवटा मैत्रीपूर्ण खेल खेलेपछि जोन ग्याम्पर कपको उपाधिका लागि इटालियन क्लब युभेन्टससँग खेल्ने छ ।