इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।
सरकारसँग तथ्याङ्क छैन
विषालु च्याउ सेवनबाट ठूलो सङ्ख्यामा मानिसहरूको निधन हुन्छ । विशेषगरी वर्षायाममा देशभरिका विभिन्न स्थानमा विषालु च्याउको सेवनबाट धेरैको ज्यान जाने गर्छ।
तर हरेक वर्ष विषालु च्याउकै कारण कति जनाको ज्यान जान्छ भन्ने स्पष्ट विवरण भने नभएको सरकारी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीले घटना भएका बेला विषालु च्याउ सेवन गरेर मृत्यु र बिरामी भएकोबारे सार्वजनिक गर्ने गरे पनि एकीकृत विवरण भने नराखेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए।
उनले भने, “हामीसँग विषालु च्याउ खाएर मृत्यु भएका भनेर नै छुट्टै राखेको विवरण छैन।”
हुँदैन जाँच
बर्सेनि विषालु च्याउ सेवनबाट मानिसहरूको मृत्यु हुने गरे पनि सरकारले हालसम्म यस्ता च्याउको जाँच गर्ने व्यवस्था नगरेको अधिकारीहरूले जानकारी दिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी निमित्त महानिर्देशक मतिना जोशी वैद्यका अनुसार नेपालमा हालसम्म च्याउको विष जाच्ने प्रविधि राखिएको छैन।
उनले भनिन्, “कुन च्याउ विषालु छ र कुन छैन भनेर छुट्ट्याउन सक्ने प्रविधि र दक्षता हामीसँग हालसम्म छैन।” उनले जङ्गली च्याउलाई चिन्ने प्रविधि नरहेकाले त्यस्ता च्याउको उपयोग नै नगर्न सुझाव दिइन्।
यस समाचारको केही भाग बिबिसि नेपाली सेवाबाट लिइएको हो ।