काठमाडौंमा अब अनलाइनमा नाम दर्ता गराएकाहरुले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार उक्त प्रावधान गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।
मन्त्रालयले साउन १ गते पत्र पठाएर अनलाइनमा नाम दर्ता गराएकाहरुलाई मात्र कोरोनाविरुद्धको खोप लगाउन निर्देशन दिएको हो ।
सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ । खोपका लागि स्वास्थ्य मन्त्रालयले तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताए । खोप केन्द्रमा भीड नहोस् भनी उक्त प्रावधान राखिएको उनको भनाइ छ ।
१३ लाख बढीले लगाए कोरोना विरुद्धको खोप
नेपालमा कोरोना भाइरस विरुद्धको खोप हालसम्म १३ लाख भन्दा बढीले लगाइसकेका छन् ।
कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन सबै गरेर नेपालमा हालसम्म ७३ लाख ८२ हजार आठ सय ५० डोज खोप आइसकेको छ । त्यसमध्ये खोप लगाउनेको संख्या १३ लाख १२ हजार १२ पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चार लाख ६० हजार तीन सय आठ जनाले कोभिसिल्ड, ६ लाख ९२ हजार नौ सय ६९ जनाले भेरोसेल र एक लाख ५८ हजार सात सय ३५ जनाले जोन्सन एण्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका छन्।
कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार चार सय ८४ जनाले र भेरोसेलको पहिलो डोज १५ लाख २१ हजार चार सय ६७ जनाले लगाएका छन्। जोन्सनको खोप एक लाख ५८ हजार ७३५ जनाले लगाएका छन्।
जोन्सन एण्ड जोन्सन खोप बागमती र गण्डकी प्रदेशमा मात्र लगाइएको छ।