बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६०० भन्दा बढीमा सङ्क्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न जिल्लामा १४ हजार ९१० जनाको नमुना परीक्षण गर्दा भेटिएका ३ हजार ११४ मध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा भेटिएका सङ्क्रमितको सङ्ख्या ६१५ रहेको छ ।
आज काठमाडौँमा ४२१, भक्तपुरमा ८६ जना र ललितपुरमा १०८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
शनिवार अपराह्नसम्म देशभर २७ हजार ७५७ सक्रिय सङ्क्रमित हुँदा उपत्यकाका तीन जिल्लामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६१९ रहेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौँमा ५ हजार ५७५, भक्तपुरमा ९३२ र ललितपुरमा १ हजार ११३ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित भनेको कोरोना भाइरसको सङ्क्रमण भएर होम आइसोलेसन (एकान्तवास) बसेका र उपचारको लागि अस्पतालमा रहेका बिरामीहरूको सङ्ख्या हो । यसमा स्थानीय निकायले बनाएका आइसोलेसन सेन्टरमा रहेका सङ्क्रमितको सङ्ख्या समेत जोडिएको हुन्छ ।
त्यस्तै गरी अहिलेसम्म ललितपुरमा ५८३, भक्तपुरमा ३८१ र काठमाडौँमा १ हजार ९४८ गरी उपत्यकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ । शनिवार अपराह्नसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ पुगेको छ ।