बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् ।
हिजो दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको छ ।
उनीहरुबाट दुई हजार दुई सय १४ डलर अमेरिकन डलर र दुई लाख आठ हजार पाँच सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनाको साथबाट पाँच सय दरका चार सय १७ थान भारतीय नोट बरामद भएको हो ।
पाँच सय दरमाथिको भारतीय नोट नेपालमा प्रतिबन्धित छ । प्रहरीका अनुसार अमेरिकी डलर पनि प्रयोजन खुलाएर सीमित मात्रै बोक्न पाइन्छ ।
उनीहरुसँग ३ लाख ३३ हजार नेपाली रुपैँया बराबरको भारतीय मुद्रा र २ लाख ६१ हजार २५२ नेपाली रुपैँया बराबरको अमेरिकन मुद्रा गरी कूल ५ लाख ९४ हजार ८५२ रुपैँयाको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।