कोरोनाविरुद्ध अमेरिकी कम्पनीले बनाएको जोन्सन एण्ड जोन्सनको खोप लगाएकी धादिङकी एक महिलाको निधन भएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएकै दिन अमेरिकी कम्पनीले बनाएका खोप लगाएका २८ दक्षिण अफ्रिकन नागरिकको निधन भएको छ ।
धादिङमा ज्यान गुमाएकी महिलाको यही खोपको कारणले निधन भएको हो वा अन्य कुनै कारण हो भन्नेबारेमा अनुसन्धान गर्न काठमाडौंबाट एक टोली धादिङ हिडिसकेको छ ।
समाचार एजेन्सी सिन्ह्वामा प्रकाशित समाचारअनुसार दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो ।
सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका थिए । सहप्राका अनुसार कोरोनाविरुद्धको खोप लगाएकामध्ये ३ हजार ७३० जनामा कोरोना खोपको असर देखिएको थियो ।
उनीहरुमध्ये २७९ जनाको अवस्था चिन्ताजनक थियो भने २८ जनाको मृत्यु भएको हो । अहिलेसम्म दक्षिण अफ्रिकामा ५५ लाख मानिसले कोरोना खोप लगाएका छन् । जसमध्ये १० लाख मानिसलाई जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ भने बाँकी ४५ लाखले फाइजरको खोप लगाएका छन् ।