‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको गद्दार हुन्, एमालेमा उनलाई ठाउँ छैन । कोही साथीहरू गल्ती स्वीकार गरेर, सच्चिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई त्यो ठाउँ छैन’ बालुवाटारबाट बहिर्गमन भएपछि बालकोट पुगेर बार्दलीबाट ओलीले भनेका थिए । बालकोटको बार्दलीबाट माधव नेपाललाई एमालेमा कुनै ठाउँ नभएको घोषणा गरेका ओलीको बोली बिहीबार भने फेरियो । बिहीबार १८० घुमेर ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड । हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ । अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’
नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका ओली बिहीबार भने नरम देखिए । अध्यक्ष ओलीको यी दुई परस्पर विपरीत भनाइले सङ्केत गर्छ ओली एकताका लागि लचक भए । केन्द्रीय कमिटी बैठकले पनि स्पष्टीकरण सोधिएका नेता नेपालसहित २२ सांसदबारे केही निर्णय गरेन । बरु पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने र अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गर्यो । यति मात्रै होइन ओली पार्टी एकताका लागि नेता नेपाललाई दोस्रो अध्यक्ष दिन पनि तयार भएका छन् । आफू दोस्रो अध्यक्ष समेत दिन तयार रहेको प्रसङ्ग हिजोको बैठकमा उठाए ।
ओली गल्नुका कारण
केन्द्रीय समिति बैठकमा एमाले विभाजित हुँदा पर्ने प्रभावबारे छलफल भएको थियो । एमाले प्रदेश अध्यक्षहरूलाई विभाजनले पार्न सक्ने प्रभावबारे ब्रिफिङ गर्न भनिएको थियो । केन्द्रीय कमिटीमा अधिकांश प्रदेश कमिटीका अध्यक्षहरूले बिफिङका क्रममा पार्टी विभाजन हुँदा एमालेलाई धक्का लाग्ने आकलन सुनाए । माधव नेपालले सात नदिँदा सत्ता गुमेको ओलीले सम्झिए होलान् । ओलीको सत्ता बहिर्गमनको मुख्य कारक माधव नेपाल नै हुन् । जुन उनले गुमाइसके । अब यसको असर आगामी चिर्वाचनमा समेत पर्ने देखेपछि ओली लचिलो बने । त्यस्तै ओलीलाई अर्को डर राष्ट्रपतिमाथि लाग्न सक्ने महाअभियोग पनि हो । सत्ता गठबन्धनका केही नेताहरूले सार्वजनिक रूपमै राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताइरहेका छन् ।
अहिले सत्ता गठबन्धनमा अलिकति मेहनत गर्ने हो भने महाअभियोग लाउन बहुमतसमेत पुग्ने अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा १ सय ६५ मत पाएका थिए । माधव नेपाल पक्षका भोट नदिएका १० सांसदलाई मात्रै ल्याउन सके महाअभियोग पारित हुने अवस्था आउन सक्छ । ओलीले सत्ता पक्षीय गठबन्धन बलियो हुँदै गएको, त्यसमा नेपाल पक्षको पनि साथ रहँदा झन् बलियो हुने ठानेर पनि लचकता अपनाए । योबाहेक केन्द्रीय कमिटी बैठकमा सहभागी अधिकांशले पार्टी एकताकै पक्षमा मत राखेका कारण ओली यु–टर्न हुन बाध्य भएका हुन् । केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि सबै प्रयास अघि बढाउन ओलीलाई अधिकारसमेत दिएको छ ।
‘जालझेल’ हुने सक्ने आशङ्का
ओलीले नेपाल पक्षले यसअघि गरेका सबै क्रियाकलापलाई माफी दिने बताएका छन् । तर, नेपाल पक्षले ओलीले बढी गलत काम गरेको बताइरहेको छ । त्यसका लागि ओलीले आत्मालोचना गर्नुपर्ने मागसमेत नेपाल पक्षका नेताहरूले राख्दै आएका छन् । अहिले पनि ओलीको यु–टर्न मा ‘जालझेल’ हुने सक्ने आशङ्काले नेपालका नेताहरूले गरिरहेका छन् । ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरूको भनाइ छ । च्यासलमा अध्यक्ष ओलीले ‘एम्नेष्टि इज ग्रान्टेड’ भनेर घोषणा गरिरहँदा माधव नेपाल भने ओली पक्षको आलोचना गरिरहेका थिए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौँको चम्पादेवीमा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा नेता नेपालले आक्रोश पोख्दै थिए । ओलीलाई लक्षित गर्दै नेपालले बार्दलीमा बसेर सामन्तको जस्तो नाटक मञ्चन र जालझेल गर्ने काम भइरहेको बताए। उनले आफूले बनाएको घर (एमाले) छाडेर हिँड्न पनि गाह्रो भएको र अपमान सहेर बस्न सक्ने अवस्था पनि नभएको बताए । ‘आफैँले बनाएको घर छाडेर हिँड्ने मन कसैलाई हुँदैन तर अपमान सहेर कोही पनि बस्दैन, कुकर्म सहेर कोही पनि बस्न हुन्न । ‘आपराधिक, शोषक, सामन्ती, जाली(झेली, फटाहा तत्त्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ ।’