वाग्मती प्रदेश सरकारले आज शुक्रवारदेखि यस प्रदेशभित्र दर्ता भएका सवारीसाधनहरूको नवीकरण अनलाइनबाटै गर्न सकिने जनाएको छ ।
एक कार्यक्रमका बिच यो सेवाको सुरुवात आजदेखि गर्न थालिएको हो ।
पहिलो चरणमा बागमती प्रदेशबाट अनलाइनबाटै सवारी कर, नवीकरण, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधा उपलब्ध हुने भएको हो ।
प्रदेश सरकारले यसका लागि छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (https://tmis.bagamati.gov.np/) तयार पारेको छ । यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।
नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ । जसमार्फत आफ्नो सवारी साधनको विवरण, यस अघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ ।
अब आज शुक्रवारदेखि तिर्न बाँकी रहेको कर अन्तर्गत अनलाइन भुक्तानीका विकल्प समेत जोडिनेछन् । बागमती प्रदेशबाट सुरु हुने यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार हुने बताइएको छ ।
प्रदेश सरकारको लागि आजको दिन सबैभन्दा महत्त्वपूर्ण दिन भन्दै आर्थिक श्रोतको मेरुदण्डको रूपमा रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस कार्यले सहयोग पुर्याउने बताएको छ । अनलाइन सेवा सुचारु भएसँगै सेवाग्राहीले पाउने दुख कष्टको पनि अन्त्य हुने विश्वास लिइएको छ ।