राइड सेयरिङ एप पठाओका चालकमाथि यातायात व्यवसायीले हातपात गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले गरको आन्दोलनको क्रममा आन्दोलनलाई बिथोल्न सहयोग गरेको भन्दै आन्दोलनमा सहभागी ट्याक्सी र बस व्यवसायीले हातपात गरेका हुन् ।
पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज आन्दोलनमा उत्रिएकाले पठाओ राइडरमाथि हातपात गरेको बताएका छन् ।
बस्न्यातले भने, ‘बस व्यवसायी र ट्याक्सी व्यवसायीले पठाओका २ जना चालकलाई हातपात र ४ वटा पठाओको चाबी खोसेका छन् । हामीले हातपात भएका १०० मा सीधै प्रहरीलाई फोन गर्न भनेका छौं । हातपात भएका चालकको सुरक्षाका लागि हामी प्रहरीमा उजुरी लिएर जाने तयारीमा छौं ।’
यातायात व्यवस्था विभाग निजी सवारीले भाडा लिएर यात्रु बोक्नु अवैधानिक भन्छ । यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था छ । ऐनकै दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने अर्को व्यवस्था पनि छ ।
सार्वजनिक यातायात केन्दीय महासंघका महासचिव भरत नेपाल भने पठाओ चालक माथि हातपात नभएको बताए । उनले भने, हामीले शान्तिपूर्ण आन्दोलन मात्रै गरेका हौं । कसैमाथि हातापात गर्ने हाम्रो नियत छैन । हाम्रो आन्दोलनमा प्रहरी पनि सँगै छन् । उनीहरूलाई सोध्दा पनि थाहा हुन्छ ।’
यातायात व्यवसायी भने यस्ता सेवालाई पूर्ण प्रतिवन्ध लगाउनुपर्ने पक्षमा छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला निजी सवारीलाई भाडा उठाउने गरी सार्वजनिक रुपमा प्रयोग गर्नु सरकार र कानुनमाथि नै चुनौती भएको बताउँछन् ।
सिटौला यसलाई विकृतिका रुपमा ब्याख्या गर्छन् । ‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानूनले नदिएको काम गर्न पाइँदैन,’ उनी भन्छन्, ‘यस्तो व्यवसायलाई छुट दिइयो भने भोलि जसले जे पनि गर्न सक्छ । यसमा राज्यले आफ्नो भूमिका देखाउनैपर्छ ।’
निजी सवारी साधनलाई विभिन्न बाहनामा भाडामा प्रयोग गर्ने क्रम बढ्दै गए भविश्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने सिटौलाको तर्क छ । अन्तर्राष्ट्रिय प्रयोग भन्दै नेपाल भित्र्याइएको यस्तो प्रविधि नेपालका लागि उपयोगी छ छैन भनेर पनि हेर्नुपर्ने उनको तर्क छ । सार्वजनिक यातायात सेवामा कमी कमजोरी रहे पनि समायानुकुल सुधार गर्न आफूहरु तयार रहेको महासचिव सिटौला बताउँछन् ।
नोट : यसमा प्रयोग भएको तस्विर पठाओ राईडर पुनम मिश्रको हो । उनको खुट्टा पोलियोग्रस्त छ । पोलियोग्रस्त भएर पनि पठाओ राइडर बनेका मिश्रको बारेमा केटिएम दैनिकले तयार पारेको स्टोरी यो लिंकबाट पढ्न सकिन्छ ।