सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा पछिल्लो ६–७ वर्षयता छाडा पशु चौपायाले आतङ्क मच्चाएका छन् । छाडा चौपायाका कारण बारीमा लगाएका कुनै पनि बाली जोगाउन नसकेपछि हेरालु लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
स्थानीय निर्वाचनमा धेरै उम्मेदवारले छाडा चौपाया नियन्त्रण गर्ने नारा पनि अघि सारेका थिए । स्थानीय सरकार गठनभएपछि छाडा चौपाया रोक्न धेरै प्रयास भए । तराईका गाई–गोरु पहाडमा लैजानेदेखि ठाउँ–ठाउँमा गौशाला खोल्नेसम्म ।अझै पनि धेरै ठाउँमा छाडा चौपाया नियन्त्रणमा आउन नसकेको स्थिति छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा प्रदेश मुकाम धनगढीमा छाडा चौपाया रोक्न स्थानीयहरू अगाडि सरे । छाडा पशु चौपायाले बारीमा लगाएको बाली सखाप पार्न थालेपछि आन्दोलनका कार्यक्रमसमेत भए ।धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न स्थानीयहरू अगाडि सरेमा सहयोग गर्ने प्रतिबद्धतासमेत गर्यो । त्यसैअनुसार धनगढी–३ चटकपुरमा छाडा चौपाया नियन्त्रण गर्ने उद्देश्यका साथ गौशालाको स्थापना भयो ।सुरुमा स्थानीयहरूले मुठ्ठी दानबाट गौशाला निर्माण सुरु गरेका हुन् ।
स्थानीयहरूले सामुदायिक वनको नाममा रहेको डेढ बिघा खाली जमिनमा गौशाला निर्माण गर्न सुरु गरे । ‘गोठमा पाल्दै आएका गाईहरूलाई दूध दिँदासम्म मात्र पाल्ने त्यसपछि छाड्ने प्रवृत्ति बढ्दै गयो,’ गौ संरक्षण सेवा समितिका सचिव समेत रहेका स्थानीय सीताराम अवस्थीले भने, ‘स्थानीयको हातेमालोले गर्दा नै गौशाला निर्माण सम्भव भएको हो ।’ गौशालामा गाईको सङ्ख्या बढ्दै गएपछि स्थानीय तथा प्रदेश सरकारसँग पनि सहयोग मागेको उनले बताए ।
०७५ बाट सुरु गरेको गौशालामा अहिले ७०–७५ वटा गाई–गोरु रहेका छन् । गौशाला निर्माणका लागि ३६५ आजीवन सदस्य रहेका छन् । गौशालामा धनगढी उपमहानगरपालिका, सांसद डिल्लीराज पन्तको प्रदेश सांसद कोषको रकम र प्रदेश सरकारको गरी झन्डै एक करोड ७५ लाख खर्च भइसकेको छ । गौशालामा एक सय ५० भन्दा बढी गाई–गोरु अटाउने क्षमता भएको गोठ निर्माण भएको छ ।
गौशालामा छाडा पशु चौपायाको सङ्ख्या बढ्दै गएपछि स्थानीयहरू व्यावसायिक रूपमा अगाडि बढ्ने सोचमा रहेका छन् । सडकदेखि घरबाट समेत गौशालामा गाईहरू पुर्याउने गरेको गौशाला व्यवस्थापन हेर्ने रीता जोशी अवस्थीले बताइन् । ‘घरबाट गौशालामा गाई पुर्याएमा समितिले आफ्नो मापदण्ड बनाएको छ,’ उनले भनिन्, ‘त्यसैअनुसार गाईहरूलाई राख्ने गरेका छौँ ।’सडकमा छाडिएका गाई–गोरुसमेत त्यहाँ राख्ने गरेको उनले बताइन् । गाई–गोरुको सङ्ख्या बढ्दै गएको हुँदा नश्ल जातका गाई उत्पादन गरी व्यावसायिक रूपमा अगाडि बढ्ने बताइन् । ‘गाई–गोरुको सङ्ख्या बढ्दै गएको छ,’ उनले भनिन्, ‘यसलाई व्यवस्थित गर्नका लागि उन्नत जातका गाई उत्पादन गर्न पनि आवश्यक छ ।’
गौशाला सञ्चालनमा तत्कालका लागि बलियो आयस्रोत नहुँदा समस्या हुने गरेको समितिले जनाएको छ । हेरालुदेखि गाई–गोरुको दाना चाराका लागि समस्या हुने गरेको गौशाला व्यवस्थापन समितिका महासचिव रघुवीर भट्टले बताए । ‘मुठ्ठी दानबाट मासिक रूपमा केही रकम सङ्कलन हुने गरेको छ,’ उनले भने, ‘तर, त्यसले मात्र पुग्दैन ।’ गौशाला सञ्चालनका लागि मासिक न्यूनतम ६० हजारसम्म खर्च हुने गरेको उनले बताए । ‘तीन जना हेरालु राखिएको छ, उनीहरूलाई मासिक तलब दिनु नै पर्यो अनि गाई गोरुलाई पनि भुस पराल किन्दा त्यतिले पुग्दैन ।’ धनगढी उपमहानगरको छेउमा रहेको गौशाला नजिक चरिचरन क्षेत्र नहुँदा पनि समस्या हुने गरेको छ ।