सत्ता र शक्ति नेताहरूलाई यति प्यारो लाग्छ कि त्यसका लागि उनीहरू जस्तोसुकै त्याग गर्न सक्छन् । यसका धेरै दृष्टान्त छन् । पहिलो प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रेका जसपा दोस्रो विघटनसम्म आइपुग्दा दुई चिरा बन्यो । एक समूहले विघटनको समर्थन त अर्को समूहले विरोध गर्यो । विरोध यतिसम्मकी उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले ओलीको बहिर्गमन एक मात्रै सर्त राखेर विपक्षी गठबन्धनमा सामेल भयो । यादव पक्ष विपक्षी गठबन्धनमा सामेल भइरहँदा जसपाको महन्थ ठाकुर पक्ष भने ओलीतिर लाग्यो ।
तत्कालीन अवस्थामा सरकारमा रहेका ओलीले सत्ता ललिपप देखाएपछि महन्थसँगै जसपाका बहुसङ्ख्यक (बहुमत) सांसद ओलीतिर लागे । कतिसम्म भने १९ सांसद रहेको जसपाले सरकारमा ११ जनाको भाग पायो । जबकि संसद्मा सबैभन्दा ठुलो दल एमालेका मन्त्री त्योभन्दा केही मात्रै बढी थिए । देखाउने कुनै ठुलो राजनीतिक उपलब्धि थिएन । नागरिकतासम्बन्धी अध्यादेश ओलीले ल्याए । तर, अदालतले बदर गरिदियो । मुद्दा फिर्ताको सहमति भयो । केही छुटे पनि त्यो सेलायो । नहुँदै सरकारमा सहभागी भएको दुई हप्ता पनि नहुँदै तत्कालीन प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिपरिषद् नै अदालतले बदर गरिदियो ।
उनीहरू दुई हप्ता पनि सत्ताको भत्ता खान नपाइ बाहिरिए । ओलीका एकपछि अर्को निर्णय बदर गर्दै आएको अदालतले बहिर्गमनको बाटोसमेत देखाइ दियो । परमादेशका आधारमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले विपक्षी गठबन्धनको सरकार छ । ओली ‘बालकोको बार्दलीबाट बेलाबेलामा बरबराउँछन्’ ।
सत्ताले फेरेको समीकरण
विपक्षी गठबन्धनको सरकार बनेसँगै जसपा सांसदले महन्थको साथ छोड्न थालेका छन् । शनिवार महन्थ पक्षका केही सांसद उपेन्द्र पक्षमा सामेल भएका हुन् । यादव पक्षले शनिवार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन् ।
ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल बैठकमै उपस्थिति भए । रुही नाथले आफू काठमाडौँबाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएको यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले जानकारी दिए । थप एक दुई सांसद आफ्नो पक्षमा आउने उनको दाबी छ । कित्ता परिवर्तन गरेकाहरू ओली सरकारमा मन्त्री नभएकाहरू मात्रै छन् । ओली सरकारमा मन्त्री भएकाहरूले भने कित्ता परिवर्तन गरेका छैनन् । ओली सरकारमा जाने बेला ठाकुर पक्षसँग २० र उपेन्द्र यादवको पक्षमा १२ जना मात्र सांसद थिए ।
अब समीकरण फेरिएको छ । अब यादवको पक्षमा सांसद १८ पुगेको छ भने ठाकुर पक्ष १४ सांसदमा सीमित भएको छ । उपेन्द्र पक्ष सरकारमा सहभागी हुन लागेका बेला महन्थ पक्षका सांसदले गुट परिवर्तन गर्नु संयोग मात्रै त पक्कै होइन ? ठिक यसै गरी महन्थ पक्ष ओली सरकारमा सहभागी हुँदा यादव पक्षमा चार सांसद कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेका थिए ।
तर अब परिस्थिति फेरिएको छ। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुई सांसद हरिनारायण रौनियार र रेसम चौधरी निलम्बित छन्। बाँकी ३२ सांसदमध्ये केहीले कहिले कता कहिले कता कित्ता परिवर्तन गर्ने गरेका छन् । यसअघि नै जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव समूहको बहुमत थियो । शनिवारको संसदीय दल बैठकमा उपस्थितिको सङ्ख्या हेर्दा संसदीय दलमा पनि बहुमत पुगेको छ ।
आयोगले विभाजन टुङ्ग्याउँदै
उनीहरू विभाजन हुने कुनै शङ्का छैन । त्यसको टुङ्गो लाग्न मात्रै हो । को कता जाने भन्ने पनि टुङ्गो लाग्न बाँकी छ । त्यो पनि अब केही दिनमा लाग्नेछ । विभाजन विवादबारे निर्वाचन आयोगले आजबाट सुनुवाइ सुरु हुँदैछ । दुवै समूहले आफूहरू पार्टीमा एक भएर बस्न नसक्ने भन्दै छुट्टाइदिन सहमति जनाइसकेका छन् । आयोगले जसपा बारे निर्णय लिन प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू रहेको इजलास गठन गर्दै दुवै समूहलाई आफ्नो समूहका कानुन व्यवसायी भएमा मुकरर गर्नसमेत भनिसकेको छ ।