काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ७८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड सात लाख ४८ हजार नाघेको छ ।
गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बेलायतका ५४ हजार ६७४ जना रहेका छन् । त्यहाँ उक्त अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी दोस्रो धेरै संक्रमित थपिनेमा इन्डोनेसिया रहेको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा ५१ हजार ९५२ जना संक्रमित थपिएका छन् ।
साथै एक हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ । सोही अवधिमा भारतमा ४१ हजार २८३ जना संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ । यसैबीच बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद कोरोना संक्रमित भएका छन् । गएको जुनदेखि स्वास्थ्य मन्त्री बनेका साजिदमा संक्रमण पुष्टि भएको हो ।
खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले शनिबार राति पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । शुक्रबार साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए । बेलायतमा पछिल्लो केही दिनयता संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।