नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले दिएको राजीनामा स्वीकृत गरिएको छ ।
उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा काँग्रेस सभापति शेरबहादुर देउवाले आज स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्याएको योगदानको सराहना गर्दै धन्यवाद दिएका छन् ।
नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत रहेका खातीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार सर्वोच्च अदालतमा नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।