चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् ।
कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का सुबास चौधरी र पछाडी सवार सृजना चौधरी घाइते भएका थिए ।
उनीहरु दुवैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको ६ः४५ बजेको समयमा सृजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले केटिएम दैनिकलाई बताए ।
कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते भएका छन् । घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।