फुटबलकै सर्वाधिक प्रतिष्ठत अवार्ड बालोन डि‘ओर कसले जित्छ भन्ने कौतुहलता अहिले खेलप्रेमीबीच छ । फ्रान्स फुटबल महासङ्घले दिने उक्त अवार्डमा यस पटक कोपा अमेरिका र युरो कपको विजेता टिमका खेलाडीलाई दाबेदारका रूपमा हेरिएको छ । त्यसबाहेक लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि बालोन डि‘ओरका आकांक्षीका रूपमा छन् ।
यस सिजन सबैभन्दा धेरै प्रत्यासीका रूपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई हेरिएको छ । अर्जेन्टिनाबाट पहिलो पटक उपाधि जितेका मेस्सी मेस्सी यस वर्षको बालोन डि ओरको प्रमुख दावेदारको रुपमा उभिएका छन् ।
ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जित्दै मेस्सीले आफ्नो राष्ट्रको २८ वर्षे उपाधिविहीन यात्रालाई पनि बिट मारे । त्यसबाहेक प्रतियोगिताकै उत्कृष्ट ठहरिएका मेस्सी अब सातौँ पटक बालोन डी‘ओर जित्ने अपेक्षामा छन् । यस वर्षका ४७ खेलमध्ये मेस्सीले ३८ गोल र ३४ असिस्ट गरेका छन् र २६ खेलमा मेस्सी म्यान अफ द म्याचसमेत घोषणा भएका छन् ।
उनले ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड हात पारे । कोपा अमेरिकामा सबैभन्दा धेरै चार गोल र पाँच असिस्ट गरे । उनले यस समर अर्जेन्टिनाका लागि १२ गोलमा योगदान दिए । त्यस्तै, बार्सिलोनाबाट उनले कोपा डेल रे पनि जिते । ला लिगा र च्याम्पियन्स लिग भने उनको पकडभन्दा टाढा रह्यो ।
त्यसबाहेक जोर्गिन्हो, ह्यारी केन, रोबर्ट लेवान्डोस्की र जर्जिनियो चेइलिनी शीर्ष पाँचभित्र पर्न सफल छन् । जोर्गिन्हो प्रिमियर लिग क्लब चेल्सी मिडफिल्डर हुन् । इटालीलाई युरो कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका उनले च्याम्पियन्स लिग पनि जितेका छन् । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै इटालीले उपाधि जितेको थियो । म्यानचेस्टर सिटीसँगको फाइनल खेलमा भने उनको प्रदर्शन तारिफयोग्य थियो ।
इङ्ग्ल्यान्डका कप्तान केनले टोलीलाई युरो कप २०२० को उपाधि जिताउन हरसम्भव कोसिस गरे । तर फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा इङ्ग्ल्यान्ड स्तब्ध हुनपुग्यो । उक्त प्रतियोगितामा चार गोल गरेका केनले फाइनलमा पेनाल्टीमा गोल गरे पनि टोली पराजित भएको थियो । केन त्यस्ता अभागी खेलाडी हुन्, जसले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेपनि उपाधि जित्न पाएका छैनन् । टोटनह्याम हटस्परका कप्तान केनलाई यस पटक बालोन डी‘ओरको दाबेदार खेलाडीका रूपमा लिइएको छ ।
यस्तै, पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले युरोपियन च्याम्पियनसिपमा समूह चरणबाट अगाडि बढ्न पाएनन् । तर बायर्न म्युनिखमा उनको प्रदर्शन राम्रो रह्यो । २०२०–२१ मा उनले २९ खेलमा ४१ गोल गोल गरे ।
यसैगरी, इटालियन डिफेन्डर चेइलिनीलाई पनि यसटक बालोन डी‘ओरको दाबेदारका रूपमा लिइएको छ । क्लबका लागि खासै प्रभावकारी खेल पस्किन नसकेपनि भेट्रान डिफेन्डर चेइलिनीले इटालीलाई युरोपियन च्याम्पियन बनाउन अतुलनीय भूमिका निभाए । युभेन्टसबाट भने उनी यसपटक सिरी ‘ए’ जित्न असफल बने ।
यसबाहेक पोर्चुगलकप्तान क्रिस्टियानो रोनाल्डो, ब्राजिल स्ट्राइकर नेयमार, फ्रान्सका केलियन एमबाप्पे, नर्वेका इयर्लिङ ब्राउट हालान्ड, फ्रान्सकै एङ्गोलो कान्टे र पोर्चुगलका ब्रुनो फर्नान्डेस बालोन डि ओरको अवार्डको सूचीमा रहेका छन् ।
यस्तै रुवेन डियास, करिम बेन्जेमा, रोमेलु लुकाकु, फिल फोडेन, जियानलुइजी डोन्नररुम्मा, केभिन डि ब्रुएन, रहिम स्टर्लिङ, मासन माउन्ट, इल्केए गुन्डोगान र पेड्री पनि यो दौडमा छन् ।