सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।
असार २९ गतेदेखि लागू भाडा दरअनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २६ प्रतिशतले भाडा बढेको हो ।
अहिले बढेको भाडाअनुसार काठमाडौंबाट अत्तरीया हुँदै मार्तडी (बाजुरा) जाँदा प्रतियात्रु ५६५ रुपैँया बढेको छ । यसअगाडी प्रतियात्रु २ हजार १७ रहेको भाडा नयाँ भाडादर कायम भएसँगै २ हजार ५८२ पुगेको छ ।
सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
अन्तरप्रदेश चल्ने सवारीको भाडा समायोजन भएपनि स्थानयि स्तरमा चल्ने सार्वजनिक सवारीको हकमा भने विभागले सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय लिनुपर्ने बताएको छ । प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ ।
डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधन (विल बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत VFTC कार्यालयहरुबाट डिलक्सको सुविधा लिएको प्रमाणित भएको) ले मात्र माथि तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्नेछन् ।
माथि इम्बेन्डड गरिएको भाडादरको सूची स्पष्टसँग नदेखिएको खण्डमा यो लिंकबाट डाउनलोड गर्न सकिनेछ ।