सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा अपेक्षाकृत बजेट खर्च गर्न असफल भएको छ । प्रदेश सरकारले चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो । प्रदेशमा १८ अर्ब १६ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भए पनि १२ अर्ब ६९ करोड मात्रै खर्च भएको छ ।
चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो । आर्थिक वर्षको अन्त्यसम्म चालूतर्फको १० अर्ब ४९ करोड बजेट सकिएको छ ।
चालूतर्फ ६४.१५ प्रतिशत र पुँजीगततर्फ ६९.८९ प्रतिशत प्रगति भएको सुदूरपश्चिम प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव जोशीले केटिएम दैनिकलाई बताए । विगतका वर्षहरूको तुलनामा खर्च प्रगति बढेको देखिए पनि पछिल्लो केही वर्ष यता ठुला तथा गौरवका योजनाहरूको प्रगति सन्तोषजनक भएको देखिएको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पनि प्रदेश गौरवका योजनाहरूको खर्च सन्तोषजनक रूपमा हुन सकेको छैन ।
३४ अर्ब बजेट रहेको प्रदेशमा ६७.१७ प्रतिशत अर्थात् २३ अर्ब १९ करोड १० लाख मात्रै खर्च भएको छ । ‘प्रदेश गौरवका योजनाहरूको प्रगति खासै राम्रो छैन’ प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख जोशीले भने ।
‘कोरोनाका कारण पनि बजेट खर्च गर्न सकिएन, उनले भने ‘यती बजेट खर्च हुनु पनि सन्तोषजनकै रहेको दाबी गरे ।’
७०/७२ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको थियो तर खर्च गर्न सकिएन उनले भने ।
पुँजीगत बजेट बढी खर्च गर्ने प्रदेशका मन्त्रालयहरूले पनि आर्थिक वर्ष २०७७/०७८ मा ठुला योजनाको सन्तोषजनक प्रगति नभएको उनले स्वीकार गरेका छन् । प्रदेशको भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन तथा कृषि लगायत अन्य मन्त्रालयहरूका गौरवका योजनाहरूको खर्चको अवस्था अपेक्षाकृत रूपमा हुन सकेको छैन ।
प्रदेश गौरवका योजनाहरूको ठेक्का बहु–वर्षीय हुने गरेका कारण पनि खर्च कम देखिएको प्रदेशको भूमि, व्यवस्था सहकारी तथा कृषि मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीले बताए । ‘कतिपय योजनाहरूको काम भए पनि भुक्तानी नभएका कारण खर्च कम देखिएको होला,’ उनले भने, ‘तर यस वर्ष विगतको भन्दा काम राम्रो भएको छ ।’
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सुदूरपश्चिम प्रदेशको १३ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ ।