सनातन धर्मको पृष्ठभूमिमा हरेक ऋतुमा ऋतुको प्रकृति अनुसार चाडपर्व र व्रत उत्सवहरू मनाउने परम्परा रही आएको छ । उपयुक्त परम्परा अनुसार श्रावण पहिलो दिनलाई श्रावण सङ्क्रान्ति भनिन्छ । श्रवणको अर्थ सुन्नु भन्ने हुन्छ ।
यस महिनामा श्रीमद् भगवत् गीता महापुराण जस्ता विभिन्न पुराण सुन्नु र सुनाउनु पर्छ। उपयुक्त कारणहरूले गर्दा श्रावणलाई अति उत्तम महिना मानिएको छ।
श्रावण महिनाबाटै नेपालीहरूका चाडपर्वहरू सुरु हुने गर्दछन्। यस महिनामा वर्षकै अत्यधिक वर्षा पनि हुने गर्दछ। श्रावण महिनालाई भगवान् शिवको प्रिय महिनाको रूपमा ग्रहण गरिएको पाइन्छ यसै महिनामा समुद्र मन्थन भएको थियो र त्यही बखत हलाहल विष निस्केको थियो भन्ने पौराणिक कथनहरूमा व्याख्या गरेको पाइन्छ ।
संसारलाई रक्षा गर्नका लागि भगवान् शिव आफैँले सो विष सेवन गरेर हिमालय पर्वतमा गएर रहनु भएको उल्लेख छ। यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाइँकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नु भएको उल्लेख छ। त्यसैले यस महिना शिव लिङ्गमा जल तथा बलि पुष्प चढाए भगवान् प्रसन्न हुन्छन् भन्ने मान्यता छ।
सम्भव भए श्रावण महिनाभरि यदि सम्भव नभए श्रावण महिनाको सोमबार मात्र भए पनि जसले विधिपूर्वक शिवको व्रत लिन्छ र स्नान गरी भगवान्को पूजा गर्दछ उसले पुत्र प्राप्त गर्छ,धनवान् हुन्छ, विद्या प्राप्त गर्छ,खुसी हुन्छ र समाजमा बुद्धिमान व्यक्तिका रूपमा प्रसिद्ध हुन्छ ।
श्रावण महिनाको सोमबारको व्रत गर्नाले धर्म पनि प्राप्त हुने कुरा धर्म शास्त्रमा बताइएको पाइन्छ। यो महिनामा विभिन्न शिव धामहरूमा महिनौँ मेला लाग्ने पनि गर्दछ र पशुपतिनाथमा विशेष शिवको पूजाआजा गर्ने पनि गरिन्छ।
श्रावण सङ्क्रान्तिका दिन घरका परिवारलाई वर्षभरि नै लुतो,दाग,खटिरा, घमौरा आदि नआउन, सबैको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यद्वारा अभिप्रेरित भई निशा चर ( राक्षस ) को पूजा गरी अगुल्टो बाली पूर्व-पश्चिम, उत्तर-दक्षिण चारैतिर लुतो नआओस् भनेर अगुल्टो फालेमा लुतो, खटिरा आउँदैन भन्ने परम्परागत मान्यता रहिआएको छ। त्यसैले श्रावण संक्रान्तिलाई लुतो फाल्ने दिन पनि भन्ने गरिन्छ।
जताततै हराभरा हरियाली देखिने यो महिनामा हरियो रङको विशेष अर्थ अर्थात् महिमा रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख,शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङिन चुराहरू लगाउने गरिन्छ। यो रङिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो।
विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा ,लुगा, पोते र हात अनि गोडामा मेहेन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता,सुस्वास्थ्य तथा योग्य बर पाउँ भनी व्रत बस्ने चलन रहिआएको पाइन्छ।
(✍️ जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । उनी केटिएम दैनिकका नियमित स्तम्भकार हुन। उनले साहित्यिक र समसामयिक विषयमा कलम चलाउन रूचाउँछन्। )