विराटनगरमा एक महिलाको शव मृतावस्थामा फेला परेको छ । बिहीबार विराटनगर महानगरपालिका–११ बसपार्क नजिकै रहेको चिया पसलभित्र ४० वर्षीया सीता राजवंशीको शव फेला परेको हो ।
बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी सीताको बिहीबार मध्याह्न मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार चिया पसलभित्र घोप्टो परेको अवस्थामा शव भेटिएको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरिएको बताउँदै मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले घटनाको थप विषय आउन बाँकी रहेको जनाए ।
शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार सीता सानो छाप्रोमा एक्लै बसेर चिया पसल सञ्चालन गर्दै आएकी थिइन् । बिहान मात्र सीताको पसलमा ग्राहक आएर चिया पिएको स्थानीयले जनाएका छन् ।