शुक्रवार (साउन एक गते) देखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए ।
बिहीबार बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले यस विषयमा निर्णय लिने उनले बताए । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुने बताइएको छ । यसअघि नै काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।
यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि असार ३१ गते राति १२ पछि सकिँदै छ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरू खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।
यसै गरी जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरू भेला, जम्मा हुन, भिडभाड गर्ने सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर बन्देज लगाइएको छ । विवाह तथा सामूहिक रूपमा गरिने सांस्कृतिक कार्यक्रमहरू होटेल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । साथै, शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न रोक लगाइएको छ ।