केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा कार्यान्वयनमा गृहमन्त्री बनेका बालकृष्ण खाँणले रोक लगाएका छन् ।
असार २४ मा ओली नेतृत्वको सरकारले गरेको सरुवा शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन नगर्न निर्देशन दिएको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी महानिरीक्षकलाई सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।
केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा भएका सहकुलबहादुर थापाको पदस्थापनसँगै अन्यको सरुवा गरेको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापाले एक वर्ष नभइ प्रहरी प्रमुखहरुको सरुवा नगर्ने आचारसंहिता बनाएका थिए । त्यसविपरित पालको ७ महिनामै सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयको अरुचिका बीच बालुवाटारको दबाबमा उनको सरुवा भएको बताइएको थियो ।
ओली नेतृत्वको मन्त्रिपरिषद्ले ४ जना एआईजीहरुको सरुवा र एकजनाको बढुवा पदस्थापन गरेको थियो । महानगरीय प्रहरी कार्यालयमा प्रद्युम्न कार्कीलाई सरुवा गर्ने निर्णय गरिएको थियो ।
पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्की सरुवा गरिएको थियो ।
प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको थियो । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएका थिए ।
बिहीबारकै बैठकबाट एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको थियो ।
तत्काल रमना नलिन र आफु कार्यरत ठाउँमा नै बस्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीहरुलाई निर्देशन दिइसकेका छन् ।