ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो । प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएसँगै गच्छदार अदालतमा उपस्थित भएका हुन् ।
विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका हुन् । विशेष अदालतले यसअघि गच्छदारको सुनसरीस्थित घर ठेगानामा विशेष अदालतले म्याद तामेली गरेको थियो । तर उक्त ठेगानामा बसोबास नगर्ने पाएपछि विशेष अदालतले एक महिनाअगाडि अख्तियारमा अर्को ठेगाना भए पठाइदिन आग्रह गर्दै पत्र पठाएको थियो । पत्र अख्तियारले पत्र नपठाउँदै गच्छदार आँफै हाजिर हुन पुगेका हुन् ।
आज अदालतमा पुगेका गच्छदारलाई अदालतले १० लाख धरौटी तोकेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।
ललिता निवास प्रकरणमा विशेष अदालतले दीप बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। बस्न्यात सर्वोच्चको आदेशपछि पाँच लाख धरौटी बुझाएर छुटिसकेका छन्।