नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली काँग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् ।
पूर्वरक्षामन्त्री खाँण काँग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए । देउवा नेतृत्वको अघिल्लो सरकारमा हुँदा एमसीसीमा हस्ताक्षर गरेका कार्कीले अब एमसीसीलाई सदनबाट पास गर्ने आकलन गरिएको छ ।
यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । योसँगै प्रधानमन्त्रीसहित ५ मन्त्रीमण्डल बिस्तार भएको छ ।
जनता समाजवादी पार्टीको आज ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।