महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि बडालले राजीनामा गरेका हुन् ।
उनलाई मंगलबार दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयले बिदाइ गर्दैछ। उनी गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए। सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो।
प्रतिनिधिसभा विघटन भएपछि सरकारको तर्फबाट पहिले खरेलले र अहिले बडालले सरकारको रक्षामा बहस गरेका हुन्। तर सर्वोच्च अदालतले दुवै पटक प्रतिनिधि सभा पुन:स्थापना गरिदिएको छ।
प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्ने क्रममा संवैधानिक इजलासले महान्यायाधिवक्ता रमेश बडालको प्रस्तुतिलाई लिएर तीव्र आक्रोश प्रकट गरेको थिए । अदालतले न्यायाधिवक्ताहरु लगायत प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट बहस गरेका कानुन व्यवसायीले इजलासका सम्बन्धमा गरेका गलफतीका बारेमा समेत तीव्र असन्तुष्टि जनाएका थिए ।
प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका बारेमा महान्यायाधिवक्ता बडालसहित सरकार पक्षका कानुन व्यवसायीले आपत्ति जनाएका थिए ।