सर्वोच्चको आदेशपछि काँग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दै छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।
आज बन्ने नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीका रूपमा गगन थापालाई जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।
आज अपराह्न प्रधानमन्त्रीका रूपमा देउवाले शपथ ग्रहण गर्दै गर्दा सानो आकारको मन्त्रिमण्डलका सदस्यलाई समेत शपथ गराउने तयारी भइरहेका बेला स्वास्थ्य मन्त्री रूपमा काँग्रेस नेता थापालाई शपथ ग्रहण गराउने काँग्रेस उच्च स्रोतले केटिएम दैनिकलाई जानकारी दिएको छ ।
कोरोनाको महामारीबाट बाहिर निस्किनका लागि प्राथमिकतामा परेको स्वास्थ्य मन्त्रालयमा थापालाई जिम्मेवारी दिएर देउवा सरकार कोरोना नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत हुने सङ्केत गरेको छ ।
यस अघि छोटो समयका लागि स्वास्थ्य मन्त्री बन्दा थापाले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम धेरै नै सफल भएको छ ।
सात सदस्यीय मन्त्रिपरिषद् बनाउन देउवाको प्रस्ताव
आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टीलाई कम्तीमा एक जना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
सुरुदेखि नै ५ दलीय गठबन्धनमा आबद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।
सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरूले बैठकबाट निर्णय गर्न बाँकी नै छ ।