सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ।
सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए।
राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार मङ्गलबार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ।
देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको काँग्रेस नेता बालकृष्ण खाँडले बताए ।
संविधानको धारा ७६ (५) अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । अदालतको धारा ७६ (५)अन्तर्गत बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्याख्या गरेको छ। तर, एमालेमा एकताबारे सहमति भएमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई विश्वासको मत दिन नैतिक सङ्कट पर्नेछ ।
विश्वासको मत नपाए सरकार अल्पमतमा पर्न सक्छ । यस्तो भएमा संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र चुनाव गर्नु पर्नेछ । सरकार गठनसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुट्दै छन् ।