नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट बाहिरिहएका छन् ।
सोमबार सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि पहिलो पटक गठबन्धनको बैठकमा सहभागी भएका नेता नेपालले अबदेखि आफु गठबन्धनमा नरहने बताएका हुन् ।
कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने बताएका छन् ।
नेता नेपालले एमाले विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति अनुसार अघि बढ्ने भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागी नेतालाई जानकारी गराएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा पार्टीभित्र सल्लाह पछि मात्रै निश्चित हुने उनले बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माआवोवादी केन्द्र, एमालेको नेपालपक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा संघर्ष गर्ने भन्दै विपक्षी गठबन्धन निर्माण गरेका थिए।
सर्वोच्चले मिति र समय नै तोकेर आजका मितिले २ (दुई) दिनभित्र (अर्थात् २०७८ साल असार २९ गते मङ्गलवार अपराह्न ५ बजेभित्र) संविधानसम्मत रूपमा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न र संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पुरा गर्ने गराउनु भनी राष्ट्रपतिको कार्यालय तथा सङ्घीय संसद्को पुनर्स्थापित प्रतिनिधि सभाका नाउँमा परमादेश जारी गरेको हो ।
सर्वोच्चको फैसलासँगै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेपालको संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री हुनेछन्। देउवाको सरकारले प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिन भित्रमा संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके यो सरकारले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जानुपर्ने स्थिति आउनेछ।
सर्वोच्चको फैसलासँगै विपक्षी गठबन्धनको बैठक माधव कुमार नेपाल निवास कोटेश्वरमा भएको थियो । बैठकमा नेता नेपालले अब आफू गठबन्धनमा नरहने जानकारी दिएका छन् । योसँगै शेरबहादुर देउवाको अब हुने सरकारले संसद्मा विश्वासको मत लिन गाह्रो पर्ने देखिएको छ ।