उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यसको नियन्त्रण तथा व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
यही महिनाको २२ गतेदेखि ३१ गते असार मसान्तसम्मका लागि थप गरिएको निषेधाज्ञा खुकुलो पार्नुअघि करिब उपत्यकामा दुईसय ५० जनासम्म झरेको सङ्क्रमित दर शनिवारसम्म आइपुग्दा चारसय पुगेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली कोरोना सङ्क्रमण बढेको स्वीकार्नुहुन्छ ।
सो सम्वन्धमा सम्वन्धित जिल्ला कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (डि–सिसिएमसी) बीच छलफल भइरहेको छ ।
पछिल्लो पटक खुकुलो पारिएको निषेधाज्ञामा २५ जनासम्म भेला हुन दिने निर्णयसँगै विवाह ब्रतबन्धका नाममा पार्टी प्यालेस र होटलमा भोज खुवाउने लहर बढेको छ ।
डि–सिसिएमसी प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पराजुली निषेधाज्ञा पालना भए नभएको सम्वन्धमा नियमित अनुगमन भइरहेको बताउछन् ।
तर, सयौँजना जम्मा पारी भोजभतेर खुवाउनेदेखि किनमेलका लागि बजारक्षेत्र होस वा सार्वजनिक यातायातमा अत्यासलाग्दो भीडभाड देखिन्छ ।
जारी निषेधाज्ञामा बाक्लो भीडभाड लाग्ने स्थानहरु उद्यान, पार्क, चिडियाखाना, होटल तथा पार्टी प्यालेसमा भेला तथा भोज, शैलुन पसल, ब्यूटिपार्लर, ब्यायामशाला, पौडी पोखरी र चलचित्र हल लगायतका क्षेत्रहरु सचालनमा निषेध गरेको छ ।