पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् ।
पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको जनाउँदै खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको हो ।
परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध मजदुर, कर्मचारी र व्यवसायीलाई ‘फ्रन्टलाइनर’का रूपमा लिएर यथाशीघ्र खोप उपलब्ध गराउनुपर्ने बताए । “अहिले पूर्णरूपमा व्यवसाय सञ्चालन हुनसकेको छैन, यदि सरकारले व्यवसाय सञ्चालको अनुमति दिए पनि हामी खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ”, भट्टराईले भने ।
उनले कतिपय अन्तर्राष्ट्रिय बुकिङ पनि पर्यटन क्षेत्रका मजदुर कर्मचारीले खोप लगाएका छन् कि छैनन् भनेर ‘इन्क्वायरी’ आउने गरेको जनाउँदै खोप नभएसम्म पर्यटन क्षेत्र सुरक्षित र चलायमान हुन नसक्ने बताए ।
कोभिड–१९ को प्रभावसँगै व्यवसायको जिम्मेवारीमा पर्ने व्यवसाय नवीकरण, अद्यावधिक शुल्क, घरभाडा कर, यातायात कर साथै सम्पूर्ण पर्यटन व्यवसायका शीर्षकका शुल्क र दस्तुर पूर्णरूपमा मिनाहा हुनुपर्ने र पर्यटनमा आश्रित मजदुरको सुरक्षाका लागि विशेष राहत र रोजगार सिर्जनाका प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा पनि परिषद्ले जोड दिएको छ ।
परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले परिषद्ले लामो समयदेखि ‘नो भ्याक्सिन, नो टुरिजम’को नारासहित सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यमबाट सरकारलाई दबाब दिइरहेको तर त्यसको सुनुवाइ नभएको बताए । श्रेष्ठले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा हालसम्म रु पाँच खर्ब १५ करोडको लगानी रहेको बताउनुभयो । उहाँका अनुसार ७५ हजारभन्दा बढी मजदुरले रोजगारी पाएका छन् भने हाल कोरोना कहरले ३० प्रतिशतभन्दा बढी पर्यटन व्यवसायी पलायन भइसकेका छन् ।