
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्। यसअगाडी असार ७ गते खतिवडालाई कोष्टारिकाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको थियो ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ। योसँगै डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिका, कोष्टारिका र मेक्सिकको राजदूत भएका छन् ।

२०७७ साल पुष ७ गते पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।
‘प्रोफेसनल करिअर’ बाट आएका खतिवडा लाभको पदमा काम गर्ने सबैभन्दा धेरै अवसर पाएकामध्ये पर्छन्। उनको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो। उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो।
गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि एक पटक गरी खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।
खतिवडाको इतिहास सरसर्ती हेर्दा उनी बहुत भाग्यमानी देखिन्छन्, नेपालको इतिहासमा उनी जसरी तीव्र गतिमा पदमा पुग्ने कमै होलान् ।