धनगढी उपमहानगरपालिका–८ का प्रकाश खाती नर्सरीदेखि एसएलसीसम्म काठमाडौँमा पढे । त्यसपछि अङ्ग्रेजी मूल विषय लिएर स्नातक तहसम्मको पढाइ धनगढीमा पूरा गरे ।२०६१ सालदेखि २ वर्ष सरकारी मुखियाको जागिर पनि गरे । करारको जागिर तीन वर्ष पुग्दै गर्दा सरकारले केहीलाई स्थायी र केहीलाई बिदा गर्ने नीति लियो ।
उनी स्थायी हुनेमा पर्न सकेनन् । जागिर सकियो । त्यसपछि व्यापारतिर लागे । लामो समय धनगढीमा भाँडा बर्तनलगायतको व्यापार गरेका उनको पेसा फेरि फेरिएको छ । उनले व्यापार छाडेका छन् ।
उनी अहिले गँड्यौलाबाट जैविक मल बनाउने काममा लागेका छन् । तरकारी खेती गर्दा मल आवश्यक परिरहने अवस्थालाई मध्यनजर गर्दै मल उत्पादन थालेको खाती बताउँछन् । घरमै गाई भैँसीको मलबाट उत्पादन हुने तरकारी र बालीनाली स्वास्थ्य वर्द्धक हुने र महँगोमा बेच्न पनि सकिने थाहा पाएपछि उनले किसानलाई मल उपलब्ध गराउने निधो गरेका हुन् ।
व्यावसायिक जैविक मल उत्पादन गर्ने तय गरे पनि त्यस बेला यो कसरी सम्भव छ भन्ने उनलाई थाहा थिएन ।तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो जैविक मल उत्पादनबारे खाती गुगल र युट्युबमा खोजी गर्न थाले । र, भेटे गँड्यौलाबाट जैविक मल उत्पादन गर्ने तरिका । त्यसैबाट सके जति जानकारी लिएर उनले काम सुरु गरे ।
एक वर्षअघि बनेको जैविक मल उत्पादन गर्ने उनको योजना अहिले व्यावसायिक रूपमा अगाडि बढेको छ । सुरुमा उनले ‘ट्रायल’का रूपमा काम गरी हेर्ने सोच बनाए । चितवनबाट ५५ सय रुपैयाँमा अढाई किलो गँड्यौला मगाए । घर आँगनमै सानो दुई वटा खाडल बनाएर भैँसी र बाख्राको मल प्रयोग गरे । सके जति जानकारी बटुल्दै र काम गर्दै‚ सिक्दै गए ।
ट्रायलकै रूपमा काम गर्दै जाँदा यसमा सरकारले अनुदान पनि दिन्छ भन्ने जानकारी पाएपछि उनलाई थप आँट बढ्यो । नयाँ र बलियो संरचनामा आठ वटा खाडल बनाए । दुई ट्राली गाई भैँसीको मल खरिद गरे, केही आफ्नै घरको मल थपे ।
उनले सरकारी अनुदानका लागि पहल गरे । कृषि विकास निर्देशनालय दिपायलले पनि उनलाई जैविक मल उत्पादनका लागि एक लाख ८३ हजार रुपैयाँ अनुदान दियो । ‘काम गर्दै जाँदा गँड्यौला मल उत्पादन कार्यक्रमका लागि अनुदान पनि पाइन्छ भन्ने थाहा पाएपछि अनुदानका लागि पहल गरेँ,’ उनले भने, ‘सहजै पाएँ । अनुगमनमा आएका कर्मचारीले पनि अन्यको भन्दा तपाईँले राम्रो गर्नुभएको छ भनेर पनि भने, मलाई खुसी लाग्यो, झन् प्रोत्साहन भयो ।’
उनले श्रीमतीको नाममा ‘बडिमालिमा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी विकास फर्म’ दर्ता गरेर व्यावसायिक रूपमा जैविक मल उत्पादन सुरु गरेका छन् । सुदूरपश्चिममा गँड्यौलाबाट जैविक मल उत्पादन कम हुन्छ । औँलामा गन्न सकिने केही किसान मात्रै यो क्षेत्रमा छन् ।
सरकारबाट पाएको अनुदान र आफ्नो केही लगानीबाट गँड्यौला मल उत्पादन सुरु गरेका उनलाई अब बजारको खाँचो छ । मल उत्पादन सुरु भइसकेको छ । बजार खोज्न थालिसकेका छन् । केही किसान र कृषि सहकारीसँग मलका लागि कुरा अगाडि बढाएका छन् । बिस्तारै बजार बन्दै जानेमा ढुक्क छन् खाती ।
गँड्यौला मलको बारेमा सुदूरपश्चिममा किसानलाई खासै जानकारी नभएकाले सुरुमा अलि गाह्रो भए पनि बिस्तारै बजार पाउनेमा ढुक्क रहेको उनले बताए । ‘गँड्यौला मलको उपयोगिताबारे यहाँका किसानलाई खासै जानकारी छैन,’ उनले भने, ‘तर यो उपयोगी हो भन्ने थाहा हुँदै गएपछि बिस्तारै बजार पाउनेछ भन्नेमा ढुक्क छु ।’
उनका अनुसार यो मल तरकारी बालीमा बढी उपयोगी हुन्छ । कौसी खेतीका लागि त झनै उपयोगी । ‘बारी नभएका र शहरबजारमा कौसीमा तरकारी फलफूल फलाउन चाहनेहरूका लागि गँड्यौला मल बढी प्रभावकारी हुन्छ,’ उनी भन्छन् । यद्यपि, धान, गहुँलगायत सबै बालीका लागि यो मल उपयोगी हुने उनी बताउँछन् ।
गँड्यौलाबाट उत्पादन भएको मल प्रयोग गरेपछि रासायनिक मल प्रयोग गर्नु नपर्ने र जमिनको उर्वरा शक्ति पनि बढ्ने उनी बताउँछन् । ‘गँड्यौलाको मल प्रयोग गरे जमिनको उर्वरा शक्ति बढ्ने भएकाले अर्ग्यानिक मलको प्रयोग खेतीको लागि अपरिहार्य बनाउनुपर्छ,’ उनी भन्छन्, ‘उत्पादन पनि बढ्ने भएकाले अनिवार्य रूपमा गँड्यौलाको मल (जैविक मल) प्रयोग गर्नुको विकल्प पनि छैन ।’ कृषि विज्ञहरूका अनुसार गँड्यौलाबाट उत्पादन भएको अर्ग्यानिक मलमा कम्पोस्ट मलभन्दा तीन गुणा उत्पादन क्षमता हुन्छ ।