यो सङ्कटको समय हो । सङ्कटको समयमा डराउने होइन । अनुहारमा हल्का मुस्कान राख्नुहोला । आफ्ना प्रियहरूलाई खुसी राख्न, तिनीहरूका अनुहारबाट तनाव हटाउन तपाईँको अनुहारको सुन्दर मुस्कानले धेरै काम गर्ने छ । तपाईँको हँसिलो अनुहारमा एउटा सुन्दर मुस्कान ल्याउनका लागि आज मैले एउटा सानो र रमाइलो कथा ल्याएर आएको छु ।
एउटा गाउँमा मोहनलाल नाम गरेको अत्यन्तै लोभी व्यक्ति रहन्थ्यो । उसले पैसा बचत मात्र गर्थ्यो, खर्च गर्ने त कुरै थिएन । सुरुमा, मानिसहरू उसबाट रिस गर्थे कि कस्तो किसिमको मान्छे होला, पैसा बचत मात्र गर्छ भनेर । तर बिस्तारै मानिसहरूले महसुस गर्न थाले कि यो व्यक्ति त पैसा बचत गरेर धनी पो भएछ ।
यसबाट हामीले पनि पैसा बचत कसरी गर्ने भनेर सिक्नुपर्दछ । अब यो जान्न गाउँका मानिसहरू मोहनलाल कहाँ आउन थाले । उसलाई पनि आफ्नो मान र प्रतिष्ठा देख्दा राम्रै लाग्न थाल्यो । मानिसहरू आउन थाले र उसबाट सिक्न थाले । ऊ मानिसहरूलाई पैसा बचाउने उपायहरू बताउनमा रमाउँथ्यो । तर केही दिनमा थाहा भयो कि नजिकैको गाउँमा अझ ठुलो लोभी मान्छे रहेछ । मानिसहरूले बिस्तारै यसलाई छोडेर छिमेकी गाउँको लोभी रतनलाल कहाँ जान थाले। अब मोहनलाललाई नराम्रो महसुस हुन थाल्यो किनकि अब कोही पनि यसको नजिक आउँदैन थिए । सबै जना छिमेकी गाउँको रतनलाल कहाँ जान थाले । मोहनलाल सोच्न बाध्य भयो कि यो को रहेछ जो म भन्दा नि बढी लोभी छ रे ! म छिमेकी गाउँ जान्छु, एक चोटि देख्छु उसलाई को रहेछ र वास्तविकता पत्ता लगाएपछि आउँछु र त्यसपछि गाउँलेहरूलाई भन्छु कि म त्यो भन्दा धेरै लोभी छु ।
भोलिपल्ट बिहान, जब मोहनलाल छिमेकी गाउँको त्यो ठुलो लोभी रतनलाललाई भेट्न जाँदै थियो, अचानक उसलाई लाग्यो कि खाली हात जानु ठिक छैन । केही न केही त लगेर जानु पर्छ भन्ने विचार मनमा आउँदा उसले कागजको एउटा टुक्रा लियो र त्यसमा कलमले चार वटा आँप बनायो र त्यो कागजको टुक्रालाई खल्तीमा राखेर हिँड्यो छिमेकी गाउँतर्फ ।
रतनलालको घरमा पुग्दा ऊ घरमा थिएन । उसको छोरो थियो घरमा । छोरालाई सोध्दा थाहा भयो कि रतनलाल कुनै कामको लागि अर्को गाउँमा गएको छ र कुनै पनि समयमा फिर्ता आउन सक्छ । मोहनलाल त्यहीँ बसेर कुर्न थाल्यो उसलाई । साँझ पर्न लाग्यो तर ऊ आएन । मोहनलालले अब फिर्ता हुने निर्णय गर्यो ।
छोरालाई बोलाएर भन्यो, “बाबु, तिम्रो बुवा त थाहा छैन कहिले फर्किन्छन् अथवा आज फर्किने पो हुन् कि होइनन् । मैले अब जानु पर्छ । तिम्रो बुवा आए भने भन्नु छिमेकी गाऊँ बाट मोहनलाल अङ्कल आउनु भएको थियो, तपाईँलाई धेरै कुरेर बस्नु भयो तर फेरी भेट्न आउँछु भनेर जानु भयो ।” उसले त्यो कागज आफ्नो खल्तीबाट निकाल्यो र फेरी भन्यो, “ए…साँच्चि, मैले त कोसेली दिन पो बिर्सेछु । तिमीहरूको लागि आँप ल्याएको थिएँ । यो राख, सबैले मिलेर सँगै खानु ।”
यति भन्दै जब ऊ आफ्नो घर तर्फ जान लाग्यो पछाडि बाट स्वर सुनियो, “पर्खिनुहोस् अङ्कल ! तपाई यति टाढाबाट आउनु भयो, हाम्रो निम्ति आँप ल्याउनु भयो । म कसरी खाली हात जान दिन सक्छु र ? यसो भन्दै उसले आफ्नो हातको इशाराले हावामा चार स्याउहरू बनायो र मोहनलाललाई भन्यो, “अङ्कल लिनुहोस्, यी स्याउहरू लिनुहोस् र घरमा सबै जनाले यसलाई साझा गरेर खानुहोला ।”
मोहनलाल त्यहाँबाट निस्कियो, बाटोमा उसले सोच्दै छ ……. हो, रै छ ! यो रतनलाल त म भन्दा नि धेरै लोभी रहेछ । जब उसको छोरा यति खतरा छ भने झन् आफू कस्तो होला ?
साँझ जब रतनलाल घर फर्कियो, उसका छोराले दिनभरिको सबै कथा सुनायो कि छिमेकी गाउँबाट मोहनलाल अङ्कल आएका थिए र उनले कागजमा आँप ल्याए र मैले उनलाई स्याउ पनि हावामा दिएँ… आदि ।
छोराले आफ्नो कुरा सिद्ध्याउँदा बित्तिकै रतनलालले दुई थप्पड छोराको गालामा लगाउँदै भन्छ, “ए मूर्ख ! साना साना स्याउ बनाउन सक्दिन थिइस् । ठुला स्याउहरू बनाएर किन दिनु पर्या थियो !”
यो कथा छोटो छ, तर यसले तपाईँको अनुहारमा मुस्कान ल्याउन सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु र साथै यस कथाले अर्को पनि के कुरा सिकाउँछ भने, केही व्यक्तिहरूमा केही खराब बानीहरू हुन्छन् र ती मानिसहरूले अनजानमै ती बानीहरू आफ्ना बच्चाहरूमा हस्तान्तरण गर्दछन् । त्यस कारण यो कुराको अवश्य ध्यान राख्नुहोला कि यदि तपाईँमा कुनै नराम्रो बानी छ भने, त्यो सन्तानहरूलाई हस्तान्तरण नहोस् ।
सङ्कटको यस बेलामा एक अर्कालाई सहयोग गरौँ । मुस्कान साझा गरौँ । आफ्नो र आफन्तहरूको ख्याल राखौँ ।