जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । त्यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् ।
पातारासी गाउँपालिकाको सातौँ गाउँ सभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबिबिएस पढेका एक जना व्यक्ति पनि छैनन् ।
हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबिबिएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्त्व दिएका छन् ।
जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालका अनुसार एमबिबिएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । उनले भने, ‘विपन्न, मेहनत जेहनदार एक जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ ।’
८ स्थानीय तह भएको जुम्ला जिल्लामा चन्दननाथ नगरपालिका कनकासुन्दरी, सिंजा, हिमा, तिला, गुठिचौर, तातोपानी र पातारासी गाउँपालिका गरी ७ वटा गाउँपालिका रहेका छन् ।
यस अगाडी प्रदेश १ को ताप्लेजुङमा रहेको सिरिजङ्गा गाउँपालिकाले एमबिबिएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेको छ ।