म जहिले नि बरन्डामा बस्छु, आँखा एक्कासि त्यही ढोकामा गएर अड्किन्छन् जहाँ बाट कहिल्यै निशु बाहिर आउँथी र मलाई अँगालो हाल्दै भन्ने गर्थी “अङ्कल तपाईँ धेरै राम्रो हुनुहुन्छ ।”
धेरै वर्ष भयो यो अशुभ घटना बितेको.. । समयले त्यस घटनालाई विगतको रूप दिए पनि मेरो लागि त्यो घटना अझै…..
निशुको यादले मलाई कहिल्यै छोड्नेछैन । छोड्ला पनि कसरी ? मेरै कारणले त उसलाई जीवनको त्यो चौबाटोमा खडा हुनुपर्यो जहाँ हरेक आउने-जानेहरूको आँखामा उसको लागि केवल शङ्का मात्र हुन्थ्यो… .. हरेक ओठले व्यङ्ग्यात्मक मिश्रित मुस्कानको भारी बोकेको हुन्थ्यो … हरेक जिब्रोले एउटै भाषा बोल्थ्यो…. हरेक हृदयमा घृणाकै भाव हुन्थ्यो । मेरै कारणले त जवानीको दैलोमा प्रवेश गर्ने बित्तिकै उसलाई अपमानको त्यो उपहार पाउनुपर्यो जसलाई उसले सम्हाल्न सकिन । लाग्छ … ढोकामा कसैको छायाले मलाई एउटै प्रश्न सोधिरहेको हुन्छ, “यो के गरिदियौ सन्दीप तिमीले ?
र मेरो मुटुले आफ्नो पीडा पोख्छ, – ओफ्फ़…!! मैले निशुको प्रस्तावलाई किन अस्वीकार गरेँ ?
त्यति बेला म बी.ए. पहिलो वर्षको विद्यार्थी थिएँ… जब बस्नेतजी हामीकहाँ घर भाडामा बस्न आए । उनले आफू सँग मेरो बुबाको चिठी पनि ल्याएका थिए जसमा बुवाले लेख्नु भएको थियो, “बस्नेतजी मेरा सबै भन्दा आज्ञाकारी विद्यार्थी थिए, छेउको फ्ल्याटमा उहाँहरूलाई बस्ने व्यवस्था राम्रो सँग मिलाइदिनु ।”
मलाई किन आपत्ति हुन्थ्यो र ? बस्नेतजी भाडामा बस्न थाले र म छिट्टै उनको परिवारसँग घुलमिल भैहालें ।
उनकी जेठी छोरी इशिता कक्षा दसमा र कान्छी छोरी निशिता कक्षा नौमा पढ्दै थिइन् । अजय र विजय साना थिए । निशु (निशिता), अजय र विजय प्राय: मकहाँ आई रहन्थे । विशेष गरी निशु मसँग धेरै घुलमिल भइसकेकी थिई । म कलेजबाट आउने बित्तिकै निशु दौडेर आउँथी र भन्थी, “अङ्कल, तपाईँ नहुँदा यहाँ केही राम्रो लाग्दैन । यदि मैले सक्ने भइदिएको भए, मैले तपाईँलाई आफ्नै घरमा राख्थेँ ।”
“किन….तिम्रो घरमा तिम्रो चल्दैन र ?” मैले सोधेँ ।
“यो त मेरो आमाको घर हो ।”
“ए….त्यसो भए तिम्रो घर ससुरालीमा……!” मैले मुस्कुराउँदै ऊ तर्फ हेरेर भनेँ ।
“धत्…! तपाईँले यसो भन्ने भए म आउँदिन ।”
म हाँस्थेँ र ऊ लजाएर भाग्थी ।
“अब म आउँदिन” सयौँ पटक भन्ने गर्थी तर दस मिनेट पछि निशु गम्भीर र चुपचाप मेरो ढोकामा उभिएकी हुन्थी र एक छिन पछि हाँस्थी र भन्थी, “अङ्कल, के म तपाईँसँग रिसाउन सक्छु र ? सक्दिन…..कहिले पनि ।”
समय बित्दै गयो र एक दिन त्यो पनि आयो जब सधैँ जसो “अब म आउँदिन” भनेर गएकी निशु फेरी कहिल्यै फर्केर आईन ।
सधैँ जसो एक दिन ऊ आएर मेरो छेउमा बसी । त्यो दिन म अलि अस्वस्थ थिएँ ।
“अङ्कल, के तपाईँ मसँग रिसाउनुभएको छ ?” उसले सोधी ।
“हैन…. हल्का टाउको दुखी रा छ ।” मैले भनेँ ।
“ए…. त्यसो भए म मालिस गरिदिन्छु” भन्दै उसले तुरुन्त मेरो टाउको छोएकै थिई कि उसकी आमा मेरो कोठामा आइन् । उनको निधारमा परेका झर्राहरू प्रमाण थिए कि उनीलाई निशुको उपस्थिति र उसको व्यवहार मन परेको थिएन ।
आमालाई देखेर निशु उठेर गई ।
अर्को दिन न त ऊ मेरो कोठामा आई न मैले उसलाई कतै देखेँ ।
बेलुका विजय आउँदा मैले उसलाई निशुको बारेमा सोधेँ र उसको उत्तर सुनेपछि मलाई लाग्यो कि कसैले मेरो पैताला मुनिबाट धरती नै हटाई दियो । विषयको गम्भीरता बाट अनभिज्ञ बच्चाले भन्यो, “आमाले निशु दिदीलाई भन्नुभएको छ न त तपाईँसँग कुरा गर्ने, न तपाई कहाँ जाने ।”
मेरो अन्तस्करणमा हलचल मच्चिन थाल्यो । कैयों प्रकारका विचारहरू मन मस्तिष्कमा हिंड्डुल गर्न थाले । अन्ततः मैले अब निशुबाट टाढा रहने निर्णय गरेँ ।
दुई दिन सम्म न ऊ मकहाँ आई न मैले उसलाई भेटेँ । तेस्रो दिन एउटा पत्रिकाको लागि जब म आर्टिकल लेख्दै थिएँ, एक्कासि निशु आएर मेरो छेउमा बसी ।
म डराएँ । हिजो सम्म निशु सँग घण्टौँ कुरा गर्ने मुटु आज एक्कासि उसले छेउमा बस्दैमा जोर जोर सँग धड्कन थाल्यो ।
“निशु, तिमीले यहाँ न आउनु पर्थ्यो ।” मैले उसलाई नहेरी भने ।
“अङ्कल, के तपाईँ मसँग रिसाउनुभएको छ?” आफ्नो हातले मेरो अनुहारलाई आफू तर्फ तान्दै उसले सोधी ।
“तिम्रो आमालाई तिमी यहाँ आएको मन पर्दैन भने, तिमीले यहाँ आउनु हुँदैन । ”
“अङ्कल, म पहिले पनि त आउँथेँ । अब किन आमाले इन्कार गर्नुहुन्छ ?” उसका निश्छल र निष्कपट आँखाले पनि मलाई सोध्दै थिए ।
“मलाई के थाहा?” मैले लापरबाहीपूर्वक भनेँ ।
“अङ्कल, तपाईँले मलाई यति छिट्टै बिर्सनुभयो ? तर म कहिल्यै बिर्सिन सक्दिन !” आँखा रसाएका थिए उसका ।
यो नयाँ परिस्थितिको सामना कसरी गर्ने भनेर मैले सोच्न सकिरहेको थिएन ।
जान लागेकी निशुलाई मैले समातेँ र फेरि बस्न लगाएँ ।
“हेर निशु, मलाई गलत नसम्झ । मेरो हृदयमा तिम्रो लागि अझ नि उस्तै स्नेह छ, तर तिमीले आफ्नो आमाको भनेको मान्नु पर्छ ।”
ऊ केही न बोली गइहाली ।
निशुको मकहाँ आउनु अब धेरै कम भएको थियो । तर उसकी आमा र इशिता घरको बाहिर गएका बेला वा सुतिसकेका बेला ऊ कहिले काहीँ आई हाल्थी । म निशुबाट टाढा रहने सक्दो कोसिस गरिरहेको थिएँ । खै, किन हो किन मलाई आउने समय धेरै डरलाग्दो महसुस भइरहेको थियो ।
एक पटक निशु रातको दस बजे मेरो कोठामा आई ।
“निशु, तिमी तुरुन्त यहाँबाट निस्किहाल त ।” मैले हात जोडेर उसलाई भनेँ ।
तर ऊ मेरो छेउमा बसी ।
“यो के पागलपन हो ? तिमी बौलायौ कि के हो ? यति रातिमा तिमीले आउनु हुन्थ्यो ।”
“मलाई तपाईँसँग भेट गर्नबाट किन रोक्दै छन् ? यदि न रोकेको भए के म यसरी रातमा लुकेर किन आउने थिएँ ? जसले जेसुकै भनुन्, म तपाईँसँगको मेरो पवित्र सम्बन्ध तोड्न सक्दिन ।” उसले मेरो हात आफ्नो हातमा लिएर भनी ।
मैले केही भन्नु भन्दा पहिल्यै म स्तब्ध भएँ, इशिता ढोकामा उभिरहेकी थिई ।
इशितालाई देखे पछि निशु बाहिर निस्की ।
अर्को बिहान अजयबाट थाहा भयो कि रातमा निशुलाई निर्मम कुटपिट गरियो छ ।
समाजको सङ्कीर्ण विचार र संकष्टित अवस्था देखेर मेरो मन रिसाई रहेको थियो । कुनै केटीले कुनै केटालाई भेट्नुको एक मात्र अर्थ लगाउने यो समाज सजग र सचेत हुने नाममा भयानक लापरबाहीको परिचय दिँदै रहन्छ ।
निशु माथि, जो अहिले यौवनको अवस्थाबाट अलि टाढा थिई, उसकी आमाले सुरक्षाको लागि प्रतिबन्ध लगाउन थाल्नुभयो । शैशव अवस्था र यौवन बिचको समय भनेको उमेरको सबैभन्दा खतरनाक र संवेदनशील चरण हो । लुकाई ले लगावको सिर्जना गर्दछ । यही कारण थियो निशुकी आमाले मसँग नभेट्नुको बहानाले जुन कुरा लुकाउन चाहन्थिन्, त्यही जान्ने चाहना बोकेर निशु मकहाँ घडी घडी आउन चाहन्थी ।
एक साँझ मैले बस्नेतजीलाई बोलाएर कोठा खाली गर्न र बस्नका लागि छुट्टै प्रबन्ध मिलाउन भनेँ । सँगै बस्नु अब सम्भव थिएन किनकि हामीबिच अविश्वासको भावना दिन प्रतिदिन झन् झन् बलियो हुँदै गइरहेको थियो ।
जुन साँझ मैले बस्नेतजीलाई बोलाएको थिएँ, त्यसै राति निशु फेरि मकहाँ आई र आइपुग्ने बित्तिकै भनी, “आज म तपाईँसँग गम्भीर कुरा गर्न आएकी हुँ, साँच्चै भन्दै छु, अब म धेरै थाकी सकेँ । मलाई अब सहारा चाहिन्छ । म तपाईँसँग बिहे गर्न चाहन्छु ।”
बम पड्कियो … एक्कासि …।
मलाई आफ्नै कानमाथि विश्वास लागिरहेको थिएन … तर वास्तविकता सधैँ वास्तविकता हुन्छ ।
म निशुको प्रस्ताव सुनेर अवाक् थिएँ …..
“निशु, तिमीलाई थाहा छ तिमी के भन्दै छेउ ?”
“राम्रोसँग थाहा छ । तपाईँ नै भन्ने गर्नु हुन्थ्यो कि बारम्बार बोलिने झूट पनि एक दिन साँचो हुन जान्छ । आज सबैले मलाई तपाईँकी प्रेमिका भनिरहेका छन् । मेरो नामको साथ तपाईँको नाम जोड्दै छन् । के-के सुन्नु परिरहेको छ ।” बोल्दा ऊ कामी रहेकी थिई । केही बेर रोकी र भनी, “हो, सन्दीप ! अब मैले निर्णय गरिसकेँ, म तिम्रो भएरै मर्नेछु ।”
अङ्कलबाट ‘सन्दीप’ र तपाईँबाट ‘तिमी’मा आई सकेकी थिई निशु ।
म अलमल्ल परेर निशुलाई हेर्दै थिएँ ।
“म तिम्रो फैसला जान्न चाहन्छु ।” उसको स्वर फेरी मेरो कानमा टकर्यायो ।
“के..?” मैले हिचकिचाई सोधेँ ।
“म तिम्रो फैसला जान्न चाहन्छु ।” उसले उही शब्द दोहोर्याई ।
“निशु, तिमी अहिले भावनाको आवेगमा छौ । तिमीले चाहेको………. ”
“म तिम्रो सल्लाह होइन, फैसला सुन्न चाहन्छु” भनेर उसले मलाई रोकिदिई ।
“म बाट यो हुन सक्दैन, निशु …”
“तिमीले ठिक भन्यौ सन्दीप, तिमीबाट यो हुन सक्दैन । ठिक छ, तिमी सँग मेरो केही गुनासो छैन । म जाँदै छु, अब म आउँदिन । ”
मैले केही भन्नु भन्दा पहिले नै ऊ गइहाली । मैले उसलाई पछ्याउन चाहेँ तर बरन्डामा नै रोकिनु पर्यो । उसकी आमाको चर्को आवाज सुनियो । “कहाँबाट आइस् कालो मुख गरेर….?”
“सन्दीपलाई भेटेर आऊँदैछु” उसले निर्भीकताका साथ भनी ।
“फेरी भेटेर आइस् त्यसलाई … लाज नभएकी … आज म तेरा खुट्टा भाँच्नेछु, पख् !”
“तिमीले किन पर्यो, म आफै भाँच्छु….. ।”
उनीहरूको कच-कच जारी थियो……म बोझिलो मनसँग आफ्नो कोठामा फर्केँ …!
म निशुसँग रिसाएको थिइनँ, बरु उसको लागि दुःखी थिएँ । अहिले जुन अप्ठ्यारो अवस्थामा ऊ बाँचिरहेकी थिई, टुक्रनु स्वाभाविक थियो । अविश्वासको वातावरणमा कसैले पनि कसरी सन्तुलन कायम राख्न सक्छ ?
मलाई अङ्कल बाट सन्दीप बोलाउन बाध्य तुल्याए उसलाई मानिसहरूले ।
उसको पवित्र भावना माथि यस्तो अपवित्र कलङ्क लगाइयो कि ऊ टुक्रिएर चकनाचुर भई । यस्तो समयमा मेरो कर्तव्य के हुनुपर्छ भन्ने बारे सोच्दा सोच्दा कति बेला निदाएछु थाहै भएन । बिहान मेरो आँखा तब ब्युझिये जब मेरो नोकर रतनलालले मेरो कोठाको ढोका पिटिरहेको थियो ।
“….को हो ?” मैले सोधेँ ।
“साहब, ढोका खोल्नुहोस्, अचम्म भयो ।” रतनलालको आवाज थियो ।
म ढोका खोल्न दगुरेँ … “के भयो रतनलाल ?”
“अचम्म भइहाल्यो साहब, निशु नानीले चुल्होबाट तेल छर्केर आफैँलाई नराम्रोसँग जलाइ हालिन् ।”
मेरो मुटु कति बेला धक्क…. बाहिर आउँछ जस्तो भयो ।
“निशु कहाँ छे ?” मैले सोधेँ ।
“कहाँ हुनु नि, अस्पतालमा छिन् … ।” रतनलालको स्वरमा घबराहट थियो ।
म त्यत्तिकै दौडेर अस्पताल पुगेँ । निशु नराम्ररी जलेकी थिई । उसको सुन्दर र आकर्षक अनुहार विकृत र डरलाग्दो भैसकेको थियो । बस्नेतजी, इशिता र उसकी आमा विलाप गर्दै रोइरहेका थिए ।
अजय र विजय आश्चर्यचकित एउटा कुनामा उभिएका थिए ।
म सिधा निशुको बेडमा पुगेँ ।
“निशु, तिमीले के गरिहाल्यौ ? मलाई अलि सोच्ने मौका त दिए हुन्थ्यो ।” म लगभग रोएँ ।
मेरो आवाज सुन्दा, उसले मुस्किलले आँखा खोली ।
“तिमी भित्र सोच्ने पनि हिम्मत छैन, सन्दीप” निशुले अड्किँदै भनी । ऊ जीवन र मृत्युको बिचमा झुन्डिएकी थिई । उसको अवस्थालाई हेरेर, मृत्युको पकड जीवनको भन्दा कडा थियो भन्ने कुरा प्रस्ट थियो ।
“सन्दीप …” उसले आफ्नो आँखा खोल्ने प्रयास गर्दै भनी ।
“भन निशु … म यतै छु …।” मैले पनि थाम्न सकिन आफूलाई….. भक्याई हालेँ ।
“मैले तिमीलाई धेरै दुःख दिएँ है …मलाई माफ गरिदिनु ..!” बिस्तारै उसले आफ्ना जलेका हातले मेरो हात समात्दै भनी “वाचा गर्छु… .दुःख दिन….अब म आउँदिन…!”
आँखाले एकोहोरो मलाई हेरिरहेका थिए, शरीर बेजान भइसकेको थियो उसको ।
“निssssssशु …” म कराएँ ….! …..धेरै पटक ! पटक….पटक…..! तर मेरो आवाज ऊसँग पुग्न सकेन ।
बिना कारण एक्कासि ठुलो अप्रत्याशित घटना घटी हाल्यो । निशुलाई शङ्काको बेदीमा समाजले बलि चढाएरै छाड्यो । जब मानव समाजले येशूलाई क्रूसमा झुन्ड्याउन सक्छ, तब निशु बिचरा के नै थिई र ?
निशुकी आमा, जो समाजले बनाएको एउटै लिक पिटिरहेकी थिइन, अब आफ्नो टाउको पिट्दै थिइन् । म त्यहाँ फेरि बस्न सकिन । आफ्ना पैंतलाहरु लछार्दै बाहिर निस्केँ ।
अचानक कानमा एउटा आवाज आयो, “अङ्कल .. !!”
“निश्श् ….” मेरो मुख खुला रह्यो .. !! एउटी सानी केटी हातमा कागजको टुक्रा लिएर उभिरहेकी थिई… .कुनै कुरा सोध्ने प्रयास गर्दै…… तर मैले त्यसमा ध्यान दिएन… निर्जीव कदमहरू लिएर अगाडि बढ़ें ।
आज पनि म आफूलाई निशुको हत्यारा ठान्छु । यस्तो लाग्छ कि निशु आउँछ र ढोकामा उभिन्छ तर यो मेरो भ्रम हो जसले मलाई विगत धेरै वर्षदेखि झुक्याईरहेको छ ।