आजदेखि खुकुलो भएको निषेधाज्ञामा जोरबिजोर उल्लङ्घन गर्ने ६७६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा निजी सवारी तथा ट्याक्सीमा आजदेखि लागू हुने गरी जोर बिजोर प्रणाली लागु गरिएको छ । अर्थात् जोर नम्बर भएका सवारीसाधनहरू जोर दिन र बिजोर नम्बर भएका सवारीसाधनहरू बिजोर दिन सञ्चालन गर्नुपर्छ । जोर र बिजोर सवारीको अन्तिममा भएको अङ्कले निर्धारण गर्छ । सवारीको पछाडि ०, २, ४, ६, ८ अङ्क भएका सवारी जोर हुन् भने पछिल्लो अङ्क १, ३, ५, ७ र ९ भएका सवारी बिजोर ।
मङ्गलवार बिहान जोर बिजोर तथा निषेधाज्ञा उल्लङ्घन गर्ने ६७६ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ४९१ दुई पाङ्ग्रे, १६५ ओटा चार पाङ्ग्रे, ६ ओटा ट्याक्सी र १४ ओटा अन्य सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।
ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधन भने असार १४ गते राती १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । यसअघि लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरिएको हो ।