स्वास्थ्य सामग्री पुर्याउन अस्पताल जाने क्रममा डडेल्धुराको जङ्गलमा मृत भेटिएकी महिलाको हत्या गरिएको पुष्टि भएको प्रहरीले बताएको छ ।
शव पोष्टमार्टम रिपोर्टबाट परशुराम नगरपालिका–८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले केटिएम दैनिकलाई बताए । शव परीक्षण रिपोर्टबाट हत्या भएको पुष्टि भएको र अहिले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
उनले हत्या भएको पुष्टि भएको र बलात्कारपछि हत्या गरिएको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान गर्न डीएनए परीक्षण गर्नुपर्ने जानकारी दिए । चिकित्सकले संकलन गरेका नमूना चिकित्सकको सुझाव अनुसार परीक्षणका लागि प्रहरीले काठमाडौं पठाउने तयारी गरेको छ ।असार २ गते स्वास्थ्य सामग्री पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी ५ गते शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । शव भेटिएको स्थानबाट १०० मिटर तल मोबाइल फेला परेको प्रहरीले बताएको छ।
उनका अनुसार त्यसबाहेक घटनासँगसम्बन्धित अन्य कुनै ठोस् प्रमाण हालसम्म फेला परेको छैन।घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। शव भेटिएको तीन दिनपछि सोमाबार अस्मिताको पोष्टमार्टम भएको थियो। उनका आफन्त र नगरपालिकाबीच सहमति भएपछि शव बुझेका थिए। धामीका परिवारलाई परशुराम नगरपालिकाले राहत स्वरूप १० लाख दिने निर्णय गरेको छ।
७ लाख ५० हजार नगरपालिका र २ लाख ५० हजार वडाबाट व्यवस्थापन गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेपछि आफन्तले शव बुझेका थिए। मंगलबार उनको अत्येष्टि गरिएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।