ज्योति म्युजिकले आयोजना गरेको ज्योति सिङ्गिङ स्टारको पहिलो चरणको नतिजा मङ्गलवार प्रकाशित गरेको छ । नेपाली विधामा १ सय २६ जना र नेपाल भाषामा ९० जना उक्त प्रतियोगितामा सहभागी भएका थिए ।
निर्णायकहरुको निर्णयबाट नेपाली भाषा विधाबाट ४७ जना र नेपाल भाषाबाट ३० जना उत्कृष्ट प्रतियोगीहरूको छनौट गरिएको छ । पहिलो चरणको नतिजाबाट केटिएम दैनिकमा आवद्ध बालगोपाल देवकोटा समेत दोस्रो राउन्डको लागि छनौट भएका छन् । उनी नेपाली विधामा छनौट भएका हुन्
यस प्रतियोगितामा १३ वर्षमाथिका देश तथा विदेशमा रहेका नेपालीले भाग लिएका थिए । ज्योति सिङ्गिङ स्टार नेपाल भाषा र नेपाली भाषा दुवैतर्फका विजेता प्रथम, द्वितीय र तृतीय गायक, गायिकाले आफ्नो एकल गीत रेकर्ड गर्ने मौका पाउने छन् ।
साथै ६ जना गायक तथा गायिकाका म्युजिक भिडिओ ज्योति म्युजिकले निर्माण गरिदिने छ । उक्त भिडिओ ज्योति म्युजिकको अफिसियल च्यानलमा अपलोड हुने बताइएको छ । साथै विजेता ६ जना गायक तथा गायिका अन्य विभिन्न पुरस्कार पनि प्राप्त गर्ने छन् ।