नेपाली काँग्रेसमा पछिल्लो समय महाधिवेशन केन्द्रित सरगर्मी सुरु भएका छन् । अगामी भदौमा हुने पार्टीको १४औँ महाधिवेशन केन्द्रित छलफल र समूह निर्माणमा नेताहरू सक्रिय छन् । भदौको डेट लाइनमा जसरी पनि महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यतामा रहेको काँग्रेसमा अब भने तोकिएकै समयमा महाधिवेशन हुने संकेतहरु देखिन थालेका छन् । नेताहरूको दौडधुप र समूह निर्माणको छलफलले काँग्रेस महाधिवेशन तोकिएकै समयमा हुने सङ्केत देखिएको हो । काँग्रेस १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय भएको छ ।
संस्थापन र इतर समूहका आ–आफ्नै तयारी
नेताहरूले महाधिवेशन दौडधुप सुरु गरेका छन् । सभापतिका आकाङ्क्षीहरूले आआफ्नो समूहसँग आन्तरिक छलफललाई तीव्रता दिएका हुन् । काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा पनि चुनावी मैदानमा उत्रने पक्का भइसकेको छ । सभापति देउवाले पदमा दोहोरिने कसरत सुरुवात गरिसकेका छन् । उनलाई चुनौती दिन संस्थापनइतर समूह पनि जोडतोडले आन्तरिक तयारीमा छ । सभापतिमा खास गरी दुई समूहबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । इतर समूहमा वरिष्ठ नेता पौडेल पक्षले देउवालाई चुनौती दिने तयारी गरेको छ । पौडेलले सम्पर्क कार्यालय खोलेर अभियान सञ्चालन गरिसकेका छन् । पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन् ।
दुवै समूहमा सभापतिको उम्मेदवार टुङ्गो लागि सकेको छैन । संस्थापन समूहमा उम्मेदवारी दिने मनसाय बनाएका देउवालाई उपसभापति विमलेन्द्र निधि सबैभन्दा ठुलो चुनौती बनेका छन् । जसले १३औँ महाधिवेशनमा देउवालाई सघाएका थिए । निधिले यस पटक पदमा दाबेदारी नछाड्ने अड्डी लिएका छन् ।
संस्थापनइतर समूहमा त झन् धेरै आकाङ्क्षी छन् । नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह आकाङ्क्षी देखिएका छन् । इतर समूहमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताइरहेका छन् । तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौला समूह भने खुलेको छैन । १३औँ महाधिवेशनमा उनकै सहयोगमा देउवाले जित हासिल गरेका थिए ।
भेटघाट तीव्र
सभापतिका आकांक्षीहरुले आफू निकटतासँगको भेटघाटलाई तीव्रता दिन थालेका छन् । स्वयं सभापति देउवाले समेत लगातार दिन दिन केन्द्रीय सदस्यसँग छलफल गरेका छन् । देउवाले आफ्नो पक्षका सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । शनिवार प्रदेश–१ र प्रदेश–२, आइतबार बागमती र गण्डकीका केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग छलफल गरेका देउवाले सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग छलफल गरेका छन् । सबैसँगको छलफलमा देउवाले आफू पुनः सभापति बन्न चाहेको र सहयोगका लागि अनुरोध गरे । छलफलमा सहभागी अधिकांश नेताहरु देउवालाई सघाउने बचन दिएका छन् ।
देउवा मात्रै होइन इतर समूहले पनि आफू निकटकासँग छलफल गरिरहेका छन् । यसअघि देउवालाई सहयोग गरेको निधिले पनि छलफललाई निरन्तरता दिइरहेका छन् । शुक्रवार दिउँसो आफ्नै निवासमा सभापतिका आकाङ्क्षी महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग छलफल गरेका निधिले अहिले युवा नेताहरूसँग छलफल गरिरहेका छन् ।
योसँगै सोमबार काँग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्रहरूबिच पनि छलफल भएको छ । यसलाई निकै महत्त्वका साथ हेरिएको छ ।
छलफलको अवसर भने निधि दम्पती (विमलेन्द्र निधि र अनामिका निधिको) वैवाहिक वर्षगाँठले जुराएको हो । निधि दम्पतीको वैवाहिक वर्षगाँठको अवसर भएको भेटमा नेतात्रयबीच काँग्रेसको १४औँ महाधिवेशनको नेतृत्वका विषयमा छलफल भएको थियो । उनीहरूबिच पार्टीको नेतृत्व कसरी दोस्रो पुस्तामा ल्याउने भन्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ । काँग्रेसको नेतृत्वका लागि निधि, कोइराला र सिंहले पनि दाबी गरिरहेका छन् । नेतात्रयको बैठक लगत्तै निधि अन्य नेताहरूसँग पनि छलफल गरेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा उठ्ने गरी छलफल अगाडि बढाएका छन् भने उनलाई निधिले चुनौती दिइरहेका छन् ।
ओझेलमा युवा
महाधिवेशनको मैदानमा भिड्न दौडधुप गरिरहेकाहरु नै छन् । बेलाबेलामा चर्चा हुने गरेको दोस्रो अर्थात् युवा पुस्ता अहिले पनि यो दौडमा सामेल छैन । पार्टीमा युवा नेतृत्व स्थापित गर्नुपर्ने बताउने युवा पुस्ता महाधिवेशनका बखत मौन बसिदिन्छ । अथवा कुनै एक गुटका पछि लागेर पदीय भागवण्डमामै सीमित हुन्छ । यो अहिले मात्रै होइन, विगतमा पनि देखिएको पुरानै प्रवृत्ति हो । अहिले पनि त्यस्तै देखिएको छ ।