अवैध रूपमा नेपाल भित्रिएको ठुलो परिमाणको धानको बिउ आइतबार भरतपुरमा नष्ट गरिएको छ । विभिन्न सरोकारवालाहरूको रोहवरमा कृषि ज्ञान केन्द्र चितवनले नेपाल सरकारले प्रतिबन्धित गरेको गोरखनाथ ५०९ जातको धानको बिउ खाल्टोमा गाडेर नष्ट गरेको हो ।
नेपाल सरकारको सूचीकरणबाट हटेको धानको बिउ बिक्री वितरणको लागि ल्याइएको अवस्थामा प्रहरीको सहयोगमा कृषि ज्ञान केन्द्र चितवनले बरामद गरेको हो ।
चितवन र अन्य जिल्लाका विभिन्न एग्रोभेटहरुको माग बमोजिम विक्रीको लागि ल्याइएको उक्त धानको बिउ मध्ये अधिकांश नारायणगढको एक टान्सपोर्टबाट बरामद गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । बरामद गरिएको मध्ये थोरै धानको बिउ जिल्लाका विभिन्न एग्रोभेटहरुवाट बरामद गरिएको हो । गत जेठ ४ गते चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ नष्ट गरिएको हो ।
भारतबाट अवैध रूपमा नेपाल भित्रिएको उक्त धानको बिउ मध्ये ३३ केजी नमुनाको रूपमा राखेर बाँकी नष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनले बताए । भारतीय उत्पादनका रूपमा रहेका यो जातको धानको बिउलाई गत वर्ष मात्रै राष्ट्रिय बिउ विजन समितिले नेपालका लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो । विराटनगरको कोसी अर्ग्यानिक मलले स्वस्तिका ट्रान्स पोर्ट प्रालिमार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो ।
प्रतिबन्धित धानको बिउ मगाउने साझा एग्रोभेट सेवा टाँडी, चितवन भेट फर्मा टाँडी, विनिता एग्रो सेन्टर अमृत चोक, एभरेस्ट एग्रो इन्टरनेशनल नारायणगढ र प्रशान्त एग्रोभेट खुरखुरेलाई प्रति फर्म दश हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख ढकालले जानकारी दिए ।
बिउ मगाउने अन्य जिल्लाका एग्रोभेटहरुको हकमा सम्बन्धित कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको ढकालले बताए । नष्ट गरिएको धानको बजार मूल्य अहिले २५ लाख रुपैयाँ छ । नेपालमा अहिले ७ चैते र १३८ जातका वर्षे धानका बिउहरू सूचीकृत छन् ।