‘हाम्रो जन्मभूमि’ नामक संस्थाले सिन्धुपाल्चोक हेलम्बुका बाढी पीडित करिब ४० घर परिवारलाई लाई राहत सामाग्री वितरण गरेको छ ।
केही दिनअघि आएको बाढीले उक्त क्षेत्रमा ठुलो क्षति गरेपछि अहिले देश तथा विदेशमा रहेका विभिन्न सामाजिक सङ्घ संस्थाहरूले सहयोग गर्ने क्रम बढ्दो छ ।
त्यसै सिलसिलामा ‘हाम्रो जन्मभूमि’ नामक सामाजिक संस्थाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. ७ को चनौटे बजार लगायत आसपासका करिब ४० घर परिवारलाई चामल, तेल, दाल, चिनी, चिउरा, चिया पत्ति, साबुन लगायत विभिन्न सामाग्रीहरू सहयोग गरेको हो ।
प्रतिपरिवार एक बोरा चामल, २ लिटर तेल, २ केजी दाल २ केजी चिनी, १५ केजी चिउरा, नुन, तेल, चिया पत्ति, साबुन लगायत विभिन्न सामानहरू उपलब्ध गराइएको उक्त संस्थाका उपाध्यक्ष गिता श्रेष्ठले केटिएम दैनिकलाई बताइन् ।
राहत वितरण गर्न गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा बाडीपीडित परिवारलाई राहत वितरण गरेको हो ।
उक्त सामाग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थाका सचिव सुमन श्रेष्ठ,सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठ साथै संस्थाका सल्लाहकार तथा फोटो पत्रकार सागर श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
उक्त संस्थाले देश तथा विदेशमा रहेका नेपालीहरूबाट करिब २ लाख बराबरको सहयोग प्राप्त गरेको थियो ।
यो संस्था टिकटकको माध्यमबाट नेपाल र नेपाल बाहिर रहेका नेपालीहरूको संयुक्त पहलमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा दर्ता भई हाल देशै भरि विभिन्न समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आइरहेको छ ।