प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।
तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।
युवा नेतृ खुश्बु घिमिरे माथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो । अहिले उनीहरुलाई टेकुमा राखिएको छ ।
पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।
झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।
टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।
नोट : यसअगाडी अर्का अभियान्ता हेमराज थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत ज्वाला संग्रौला सहित ३ जनालाई एमाले केपी शर्मा ओली निकट युवा संघका कार्यकर्ताले प्रहरी परिसरमा कुटपिट गरेको बताएका थिए । उनले अहिले सो पोष्ट सामाजिक सञ्जालबाट हटाइसकेका छन् ।