मोरङमा कोरोना सङ्क्रणका कारण गत वैशाखदेखि जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइने भएको छ । कोरोना सङ्क्रमण दर घटेपछि जिल्लामा निषेधाज्ञा खुकुलो बनाइने तयारी भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सोमबार बस्ने तयारी गरिएको छ । उक्त बैठकले निषेधाज्ञाको नयाँ मोडालिटी तय गरिने प्रजिअ निरौलाले जानकारी दिए ।
‘सङ्क्रमण दर घट्दो छ’, उनले भने, ‘निषेधाज्ञाको मोडल परिवर्तन हुन्छ । सोमबार बिहान बैठक बस्दैछ, बैठकमा निर्णय हुनेछ ।’
यसअघि प्रशासनले जेठ मसान्तबाट असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । अब भने प्रशासनले सबै पसल सञ्चालनका लागि निश्चित समय तोक्ने सम्भावना छ । यसअघि प्रशासनले जेठ मसान्तबाट असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । कोरोना महामारीको दोस्रो लहरपछि गत वैशाख १८ गतेदेखि मोरङमा निषेधाज्ञा लगाइएको हो ।
दोस्रो लहरमा मोरङमा १४ हजार नौ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये दस हजार दुई सय ३९ जना कोरोनामुक्त भएका छन् भने दुई सय ६१ जनाको ज्यान गएको छ ।